२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्तर्वार्ता / विचारप्रदेश १ का सामाजिक विकासमन्त्री भन्छन्, ‘स्वास्थ्य हबको रुपमा विकास गर्न चाहन्छौं’

प्रदेश १ का सामाजिक विकासमन्त्री भन्छन्, ‘स्वास्थ्य हबको रुपमा विकास गर्न चाहन्छौं’


१ नम्बर प्रदेशको राजधानी विराटनगरमा स्वास्थ्य क्षेत्रमा लगानी बढदैं गएको छ । स्वास्थ्यको क्षेत्रमा पनि उत्तिकै सम्भवना छ । प्रदेश स्वास्थ्य सेवाको हिसाबले निक्कै अगाडि छ । स्वास्थ्य समेत हेर्ने जिम्मेवारी पाएका १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग प्रदेशको स्वास्थ्य अवस्थामाथि केन्द्रित रहेर हेल्थ आवाजले गरेको कुराकानी :

सामाजिक विकास मन्त्रालयले स्वास्थ्य क्षेत्रमा कसरी काम गर्दै आएको छ ?
प्रदेश १ मा स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकारले उच्च प्राथमिकताको साथमा काम गरिरहेको छ । त्यसको लागि पहिलो प्रादेशिक स्वास्थ्य नीति कस्तो लिने ? प्रादेशिक स्वास्थ्य ऐन कस्तो बनाउने ? प्रादेशिक स्वास्थ्य नियम, निर्देशिकाहरु कस्तो बनाउने ? भन्ने कुरा हामीले प्राथामिकतामा राखेका छौं । तिनै कामको तयारी गर्दै अहिले अगाडि बढेका छौं । चाडैं सबै विषय संसदमा प्रवेश गर्दैछौं । जसबाट हामीले नीतिगत स्पष्टता प्राप्त हुनेछ ।

स्वास्थ्य क्षेत्रको सुधारको लागि के गर्दै हुनुहुन्छ ?
प्रदेशमा भएका संरचनाहरु हिजोका अञ्चल अस्पतालहरू, जिल्ला अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीको अवस्था कसरी सुधार गर्ने ? हिजोको सेवाभन्दा कसरी गुणस्तरीय बनाउने भन्नेतर्फ हाम्रो ध्यान गैरहेको छ । नीति निर्माण भैरहेको संरचनाहरुको व्यवस्थापन र कार्यक्रम संचालन सम्बन्धि ठोस सुझाव लिनका लागि विज्ञहरु सम्मलित विज्ञ समुह पनि बनाएका छौं । त्यसैगरी कार्यदल बनाएर समग्र बस्तुस्थितीको सुक्ष्म अध्ययनको काम पनि गरिरहेका छौं । कार्यदलका प्रयासहरू, विज्ञहरुका सुझावहरु सहित राखेर केहि दिनमै प्रदेशस्तरमा छलफल गर्दैछौं ।

मैले जोड दिन चाहेको कुरा के हो भने हामी नीतिगत रुपमै कसरी आगाडि बढ्ने भन्ने कुरामा हामीले पहिलै स्पष्ट हुनुपर्नेछ । जुन स्पष्टता हामीले लगभग हासिल गर्न लागेका छौ । त्यसक्रममा हामीले प्रदेश १ को प्रादेशिक अस्पतालको रुपमा विषेशज्ञ सेवा सहित कोशी अञ्चल अस्पताललाई अगाडी बढाइरहेका छाैं । सँगै यस अस्पताललाई शिक्षण अस्पतालको रुपमा परिणत गर्ने प्रक्रिया पनि अगाडि बढाइसकेका छौ । यसैगरी, १४ जिल्ला—जिल्लाका अस्पतालहरुलाई गुणस्तरीय सेवा प्रदायक अस्पतालको रुपमा रुपान्तरित गर्ने गरी बजेट समेत विनियोजन गरेका छौं । साथै आवश्यक प्रबन्धमा पनि हामीले यथोचित ध्यान पु¥याइरहेका छौं । सँगै प्रदेश १ का सबै वडाहरुमा स्वस्थ्य केन्द्र निर्माण गर्नेगरी आन्तरिक गृहकार्य पनि गरिरहेका छौं ।

स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले कस्तो नीति अवलम्बन गरेको छ ?
रोग लागेपछि अस्पतालको सहारा लिनेभन्दा पनि रोग लाग्नै नदिने कुरामा ध्यान दिनुपर्छ भन्ने सोच राखेका छौं । त्यसअन्तर्गत हामीले यो वर्षलाई ‘स्वास्थ्य प्रवद्र्धन’ वर्षको रुपमा घोषणा गरेका छौं । त्यस अन्तर्गत हामीले विभिन्न चेतनामुलक र अभ्यासमुलक कार्यक्रमहरु अगाडि बढाएका छौ । स्वस्थ्य जीवनका लागि कस्तो गुणस्तरकोे खाना उपभोग गरिहेको छौ, त्यसमा भर पर्छ । हामीले पिउने गरेको पानीको शुद्धताले हाम्रो स्वास्थ्य अवस्थालाई निर्धारण गर्छ । स्वास्थ्यका लागि सरसफाइको महत्व उत्तिकै छ । स्वस्थ रहनको लागि शारीरिक व्यायामको पनि उत्तिकै आवश्यकता पर्छ । मुलतः हाम्रो आहार विहार, सरसफाइबाटै स्वस्थ्य जीवन निर्धारण भएको हुन्छ । यस्ता कुरालाई हामीले उच्च प्राथमिकतामा राखेका छौं । यसलाई अभियानको रुपमा लैजानको लागि निर्देशिका नै तयार गरेका छौं । टोलटोलमा अभियान पुग्ने गरी निर्देशिकामा संरचना बनाएका छौ ।

प्रदेश १ को स्वास्थ्य क्षेत्रको अवस्था कस्तो पाउनुभयो ?
हाम्रो प्रदेशको स्वास्थ्य अवस्था सन्तोषजनक छैन । अहिले हामी जुन अवस्थामा छौ । यसलाई सन्तोषजनक मान्न सकिदैन् । नयाँ–नयाँ खालका रोगहरु देखिएका छन् । क्यान्सर रोगका विरामी बढ्दो छन् । महिलाको पाठेघरको समस्या उस्तै छ । मुटु, चिनीरोगी बढदा छन् । यसलाई नियन्त्रण गर्ने कुरामा प्रदेश सरकार प्राथमिकताको साथ योजना बनाउने र अध्ययन गर्ने काम गरिरहेको छ ।

प्रदेश १ मा स्वास्थ्य सेवाका दृष्टिले कत्तिको सम्भावना देख्नुहुन्छ ?
अहिले पनि प्रदेश १ ले आफूलाई मात्र सेवा दिइरहेको छैन । प्रदेश २ को सम्पुर्ण स्वास्थ्य सेवा प्रदेश १ ले धानेको छ भन्दा फरक पर्दैन । तर, हामी प्रदेश १ लाई स्वास्थ्य हबको रुपमा विकास गर्न चाहन्छौं । यसको सम्भावनाका केहि दृष्टान्त पनि छन्, हामीसँग । धरानको स्वास्थ्य विज्ञान प्रष्ठिानमा नेपाली विद्यार्थीमात्र पढदैनन्, विदेशी विद्यार्थी पनि नेपालमा पढ्न आउन सक्ने रहेछन् । अब, हामी नेपालमा ठूलठूला ‘इस्टिच्युट’ बनाएर विदेशि विद्यार्थी पढाउने सोच र योजनामा छौं । नेपाली स्वास्थ्य संस्थाले पनि विदेशी विरामीलाई राम्रो स्वास्थ्य सेवा दिन सक्छ भन्ने उदाहरण बनेको छ—विराटनगरका आँखा अस्पताल । विराटनगर आँखा अस्पताल एसियामा उत्कृष्ट मध्येमा पर्छ । उक्त अस्पतालमा ठूलो हिस्सा भारतीयको रहेको छ । त्यसपछि अन्य मुलुकको रहेको छ । सामान्य उपचारका लागि पनि विदेशै जानुपर्नै होइन रहेछ भन्ने यसले पुष्टि भएको छ ।

भारतीय विरामी आउनुमा के कारण रहेछ ?
हाम्रो स्वास्थ्य सेवाको गुणस्तरको कारणले नै भारतीय विरामी आउने गरेका हुन् ।

स्वास्थ्य क्षेत्रमा निजी लगानी ओइरिएको छ । जसको कारणले विकृति पनि भित्रिएको छ नि ?
हो, निजी लगानी बढेको छ । विगत १५÷२० वर्ष मुलुक जनप्रतिनिधिविहीन ढंगले संचालित हुनुप¥यो । त्यो समयमा राज्य यन्त्र सबै समान ढंगले संचालन हुन सकेन् । त्यसकारणले सरकारी सेवा कमजोर भयो । अब तीन तहको चुनाव भएको छ । अब तीनै तहका सरकारमा जनप्रतिनिधि छन् । यसले सुधार गर्दै लैजाने छ । अब क्रमसः सेवाग्राहीहरुको आकर्षण सरकारी अस्पतालतर्फ हुनेछ ।

निजी अस्पतालमा चर्को शुल्क छ । कमिसन खेलमा विरामी तान्ने गरिन्छ । जसले गर्दा विरामीले अनाहकमा दुःख पाउने गरेका छन् । यसतर्फ प्रदेश सरकारले के गर्दैछ ?
यो सक्रमणकालीन समय भएको कारणले केही जटिलताहरु छन् । कुन अस्पताल कसले हेर्ने । कुन कसको कार्य क्षेत्रभित्र पर्ने भन्नेजस्ता विषयहरु निरुपण भैनसकेको कारणको साथै अधिकार क्षेत्रको सीमा नतोकिएको कारणले केही बेथितिहरु बढेका छन् । प्रादेशिक स्वास्थ्य ऐन पनि चाँडै आउँदैछ । त्यसपछि यो समस्या रहने छैन् । सम्बन्धित तहले त्यसलाई नियमन गर्नेछ ।


क्याटेगोरी : अन्तर्वार्ता / विचार, प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ