२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको हेल्थ डेस्कमा ५ जना कर्मचारी गर्छन् दैनिक ६ हजार यात्रुको कोराना परिक्षण

कर्णालीको हेल्थ डेस्कमा ५ जना कर्मचारी गर्छन् दैनिक ६ हजार यात्रुको कोराना परिक्षण


वीरेन्द्रनगर—महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड—१९) लाई लक्षित गरेर कर्णाली प्रदेश सरकारले स्थापना गरेको हेल्थ डेस्क प्रभावकारी बन्न सकेका छैनन् । प्रदेश सरकार मन्त्रिपरिषदको निर्णयअनुसार प्रदेशका ५ वटा नाकामा स्थापना गरिएका हेल्थ डेस्क आवश्यक कर्मचारी र उपकरणको अभावमा प्रभावकारी हुन नसकेका हुन् ।

जनशक्तिको अभावमा २४ सैं घण्टा चेकजाँच हुनुपर्ने हेल्थ डेस्कमा दिउँसोमा चेक जाँच भएपनि राति भने चेकजाँच हुन सकेको छैन । कर्णाली प्रवेश गर्ने व्यस्त नाका बबईमा सबैभन्दा धेरै कर्मचारीको समस्या देखिएको छ ।

दैनिकजसो ५ सयभन्दा बढी सवारी साधन आवत—जावत गर्ने नाकामा एउटा मात्रै हेल्थ डेस्कका कारण यात्रुलाई समेत सास्ती भएको छ । कर्मचारी अभावका कारण यात्रुहरुले घण्टौंसम्म लाइनमा बसेर चेकजाँच गरेर प्रवेश गर्नुपर्ने बाध्यता छ । लामो भिडभाडका कारण चेक जाँच गर्न समस्या हुने गरेको स्वास्थ्यकर्मीको गुनासो छ । एउटा हेल्थ डेस्कमा ५ जना कर्मचारीले बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म भ्याइ—नभ्याई चेकजाँच गरिरहेको हेल्थ डेस्कमा कार्यरत सिनियर अहेब रामप्रसाद भण्डारीले जानकारी दिए ।

फागुन २४ गते स्थापना भएको उक्त हेल्थ डेस्कमा दैनिकजसो ५ देखि ६ हजार यात्रुको चेकजाँच भइरहेको उनले बताए । ‘मन्त्रालयले तत्कालै कर्मचारीको व्यवस्था हुन्छ भनेको छ,’ उनले भने, ‘अहिले हामी ५ जनाले मात्रै बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म चेकजाँच गर्दै आइरहेका छौं । पालैपालो खाना खान जान्छौं । आवश्यक कर्मचारी अभावका कारण सबै हेल्थ डेस्क दिवा सेवामै सिमित भएका छन् ।’ ज्वरो नाप्ने विद्युतीय मेसिनको समेत अभाव भएको उनको भनाइ छ । हाल बबईमा २ बटा विद्युतीय ज्वरो नाप्ने मेसिन छन् ।  कुनै यात्रुलाई कोरानाको लक्षण देखिएको अवस्थामा तत्काल प्रदेश अस्पताल पठाउने भण्डारीले बताए ।

प्रदेश सरकार भन्छ-कर्मचारी बढाउँछाैं 
बबई हेल्थ डेस्कको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावल, स्वास्थ्य निर्देशनालयका प्रमुख रिता भण्डारीसहितको टोलीले शनिबार अनुगमन गरेको थियो । अनुगमनको क्रममा त्यहाँ खटिएका कर्मचारीले जनशक्तिको अभावका कारण समस्या आएकाले तत्कालै हेल्थ डेस्क र कर्मचारी बढाउनुपर्ने बताए ।

अनुगमनको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले थप जनशक्ति र उपकरणका लागि मन्त्रालयलाई निर्देशन दिँदै थप व्यवस्थित गर्ने तयारी भइरहेको बताए । कर्मचारी चाँडै नै व्यवस्थित हुने उनको बताए ।

यस्तै, सामाजिक विकासमन्त्री दल रावलले ३ दिन भित्रमा सबै ठाउँमा कर्मचारीको व्यवस्थापन भएर २४ घण्टा नै सेवा दिने बताए । ‘आइतबार नै थप कर्मचारीको अन्तिम टुंगो लाग्छ,’ मन्त्री रावलले भने, ‘त्यसपछि बबई हेल्थ डेस्कलाई दुई ठाउँमा विस्तार गर्छौं । तीन सिफ्टमा आठ/आठ घण्टाको फरकमा परिचालन गछौँ ।’

साथै उनले आवश्यक पर्ने मेसिन पनि छिट्टै खरिद भएर आइपुग्ने बताए । हाल कोरानाको लागि मात्रै गरेर ६८ जना कर्मचारी तत्कालै आवश्यकता रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारी जोशीले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ