२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड-१९ : कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीलाई सतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता दिइने

कोभिड-१९ : कर्णाली प्रदेशमा स्वास्थ्यकर्मीलाई सतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ता दिइने


वीरेन्द्रनगर-कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा उपचारका लागि कर्णाली प्रदेशका विभिन्न ठाउँमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई भत्ता दिइने भएको छ। कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बिहीबारको बैठकले कोरोना रोकथाम तथा उपचारका लागि सरकारी अस्पताल तथा आइसोलेसन कक्ष, हेल्थ डेस्क र क्वारेन्टाइनमा समेत खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई भत्ता दिने निर्णय गरेको हो ।

सुरक्षाकर्मीलाई सुरु तलबको ५० प्रतिशत र स्वास्थ्यकर्मीलाई प्रोत्साहतवापत् १०० प्रतिशत भत्ता दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । यसैगरी, सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुकुम पश्चिमस्थित चौरजहारी सामुदायिक अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोक्ने निर्णय पनि गरिएको छ ।

तीनवटै अस्पताललाई एक–एक करोड सहयोग गर्नुका साथै मन्त्रीहरुको संयोजकत्वमा समन्वय तथा परिचालन समिति पनि गठन भएको छ । प्रदेश अस्पतालमा सामाजिक विकास मन्त्री दल रावल, प्रतिष्ठानमा आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र चौरजहारी सामुदायिक अस्पतालमा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई जिम्मेवारी दिइएको छ ।

कर्णाली प्रदेश सरकारद्वारा स्थापना गरिएको प्रदेश विपत व्यवस्थापन कोषमा मुख्यमन्त्री तथा सबै मन्त्रीहरुले एक–एक महिनाको पारिश्रमिक जम्मा गर्ने र जनप्रतिनिधिहरू, राष्ट्रसेवक, उद्योगी व्यवसायी एवं अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाहरूलाई कोष वृद्धिको लागि सहयोग गर्न अपिल गर्ने निर्णय भएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ