२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना व्यवस्थापनमा सहयोग गर्न दाताहरुलाई मुख्यमन्त्री शाहीको आग्रह

कोरोना व्यवस्थापनमा सहयोग गर्न दाताहरुलाई मुख्यमन्त्री शाहीको आग्रह


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कोरोना भाइरस अर्थात कोभिड–१९ को व्यवस्थापनमा सहयोग गर्न विकास साझेदार संस्थाहरुलाई आग्रह गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहीले  उक्त  आग्रह गरेका हुन ।

रोजगारीको लागि भारत गएका नागरिकहरु फिर्ता भएसंगै कर्णाली प्रदेशमा कोभिड–१९ को संक्रमण बढेको भन्दैै मुख्यमन्त्री शाहीले सहयोगको लागि दाताहरुलाई आग्रह गरेका बताए । कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन, आईशोलेसन व्यवस्थापन र संक्रमण परिक्षणमा सरकारलाई समस्या परेको उनको भनाइ छ ।

कर्णाली प्रदेशबाट झण्डै डेढ लाखको संख्यामा भारत र तेश्रो मुलुकहरुमा रोजगारीको लागि गएको वताउदै मुख्यमन्त्री शाहीले अझै पनि १ लाख भन्दा वढी नागरिक कर्णाली फर्कने अनुमान रहेको बताए । हाल सम्म कर्णालीमा भारतवाट फर्किनेहरुको संख्या ३५ हजार पुगेको उनको भनाई छ । कर्णालीमा ठुलो संख्यामा भारत लगायत तेस्रो मुलुकबाट फर्किएका नागरिकहरुवाट संक्रमण रोक्न चुनौतीपूर्ण रहेकाले विकास साझेदार संस्थाहरुको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री शाहीले प्रदेशमा स्थापना गरिएका दुईवटा प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५ सय नमुना मात्र परीक्षण गर्न सकिने बताए । तसर्थ, प्रयोगशालाको संख्या पनी वृद्धि गर्न आवश्यक रहेको उनको भनाई छ । मुख्यमन्त्री शाहीले विकास साझेदार संस्थाहरुलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टाईन र आईशोलेसन व्यवस्था, पिसिआर प्रयोगशालाको स्थापना, परिक्षणका लागि आवश्यक किट र एम्वुलेन्समा सहयोग गर्न आग्रह समेत गरे ।

कर्णाली प्रदेशका धेरैजसो नागरिक ३ महिनाको लागि मात्रै रोजगारीको लागि भारत जाने गरेको र कोभिड–१९ ले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनु परेको मुख्यमन्त्री शाहीको भनाइ छ । प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरीविको रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टाइनमा रहनुपर्ने १४ दिन सम्मका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको समेत जानकारी दिए । विकास साझेदार संस्थाहरुसंगको छलफलमा प्रदेश सरकारका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरु र संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ