२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिरोधात्मक क्षमता बढाउनका लागि सुर्खेतमा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण

प्रतिरोधात्मक क्षमता बढाउनका लागि सुर्खेतमा संक्रमितलाई आयुर्वेदिक औषधी वितरण


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर स्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका संक्रमितलाई आयुर्वेदिक औषधी वितरण गरिएको छ । प्रदेश आयुर्वेद औषधालय सुर्खेतले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि वितरण गरेको हो ।

कोरोना संक्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बृद्धिसँगै संक्रमण रोक्न आयुर्वेद औषधी वितरण गरिएको प्रदेश आयुर्वेद औषधालयका वैद्य निरिक्षक दिपेन्द्र कँडेलले जानकारी दिए ।उनले प्रदेश अस्पतालसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा आफूहरुले काम गरिरहेको जनाए ।

‘स्थानीय जंगलमा उपलब्ध रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क व्यवस्था मिलाएका छौं,’ उनले भने, ‘गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएका हौं ।’ आइतबार कोरोना विशेष अस्पतालमा रहेका कोरोना संक्रमितसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सहयोगी करिब १०० जनालाई गुर्जोबाट बनेका औषधि एवं च्यवनप्राश वितरण गरिएको वैद्य निरिक्षक कँडेलको भनाई छ।

उनले क्वारेन्टाइनमा रहेका नागरिकलाई समेत रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीसँगै मानसिक तथा शारीरिक व्यवस्थापनका लागि योग प्रणायाम, ध्यानका अभ्यास समेत आफूले सिकाउने गरेको जानकारी दिए ।

प्रदेश अस्पतालमा भारतबाट आएका ७ जना कोरोना संक्रमित शनिबार डिस्चार्ज भईसकेका छन् । अहिले प्रदेश अस्पतालस्थित कोरोना विशेष अस्पतालको आइसोलेशन कक्षमा राखेर उपचारत संक्रमितहरुमा अन्य लक्षण नदेखिएको र अवस्था सामान्य रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता जोशी भण्डारीले बताइन् । उनले रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि आयुर्वेदिक औषधि र योग अत्यन्त लाभकारी हुने विश्वास व्यक्त गरिन् । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई आयुर्वेद औषधिको प्रयोगबाट परास्त गर्न सकिने बताए ।

उनले कोरोना संक्रमणबाट जोगिनुका साथै रोग प्रतिरोधात्मक क्षमतामा बृद्धिका लागि आयुर्वेद जडिबुटीको प्रयोग उपयुक्त भएको जानकारी दिए । प्रदेश आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि अघोरात्र लागि परेको बताए । उनले सरकारी, गैरसरकारी एवं दाताहरुले सहयोग गरेमा प्रदेशभरका सबै आइसोलेशनमा कोरोना संक्रमितसँगै क्वारेन्टाइनमा रहेका नागरिकलाई समेत सेवा पु¥याउन तयार रहेको जानकारी दिए ।

कर्णालीमा गुर्जोको माग बढ्यो

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन कर्णालीमा गुर्जोको प्रयोग गर्नेहरुको संख्या बढेको छ । शरीरको प्रतिरोधी क्षमता बढ्ने र भाइरस संक्रमणजन्य रोगबाट बच्न सकिने भएकाले कर्णालीका सुर्खेत लगायत जिल्लामा यसको सेवन गर्नेहरु बढेको प्रदेश आयुर्वेद औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यले जानकारी दिए ।

उनले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै गुर्जोको माग पनि बढेको जनाए । उनका अनुसार औषधालयबाट समेत गुर्जो, अमला, अश्वगन्धा, च्वनप्राश लगायतका औषधि वितरण हुँदै आएको छ । लकडाउन अवधिमा औषधालयबाट मात्र १ हजारभन्दा बढीले गुर्जो लगेको प्रदेश आयुर्वेद औषधालयका बैद्य निरीक्षक दिपेन्द्र कँडेलको भनाइ छ ।

‘औषधालयमै आएर गुर्जोको लहरा लिन आउनेहरू पनि उत्तिकै छन्,’ उनले भने, ‘यसबाहेक गाउँघरतिर उपलब्ध गुर्जो प्रयोग गर्ने र यसलाई सेवन गर्ने तरीकाबारे सोध्नेहरू पनि बढेका छन् ।’ उनका अनुसार गुर्जोको धूलो तातोपानी वा महमा मिसाएर, क्याप्सुल बनाएर तथा लहराको रस बनाएर पनि सेवन गर्न सकिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ