२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखको दुल्लूमा पिसिआर मेशिन जडान गरिँदै

दैलेखको दुल्लूमा पिसिआर मेशिन जडान गरिँदै


सुर्खेत – दैलेखको दुल्लूमा पिसिआर मेशिन जडान गरिने भएको छ । पठाइएका स्वाबको परीक्षण प्रतिवेदनमा ढिलाई हुन थालेको भन्दै नगरपालिकाको दुल्लू अस्पतालमा उक्त पिसिआर मेशिन जडान गर्न लागिएको हो ।

मंगलबाारसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ७१ पुगेको छ । जसमध्ये दैलेखमा मात्र ३ सय ६१ जना कोरोना संक्रमित छन् । हाल सम्म दैलेख कर्णाली प्रदेशकै सबैभन्दा धेरै संक्रमितहरु भएको जिल्ला हो । नगरपालिकाबाट पीसिआर परिक्षणका लागि पठाइएका स्वाबको लामो समय सम्म पनि परिक्षण प्रतिवेदन नआएकोले नगरपालिकामै मेशिन जडान गर्न थालिएको दुल्लू नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले जानकारी दिए । ‘

‘जेठ १५ गते २ सय २ जनाको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र जेठ १७ गते १ सय १६ जनाको स्वाब प्रदेश अस्पताल सुर्खेतमा पठाइएको हो, ’उनले भने,‘ अहिले सम्म पनि परिक्षण प्रतिवेदन आउन सकेको छैन् । जसकारण नागरिकहरु अन्यौलमा छन् र नगरपालिकालाई व्यवस्थापन गर्न हम्मेहम्मे भइरहेको छ ।’

भारत लगायतका अन्य मुलुकबाट आएका नागरिकलाई निश्चित समयसम्म क्वारेन्टाइनमा राखी पीसिआर परिक्षण संक्रमण नदेखिएकालाई मात्र घर पठाइने योजना रहेको भण्डारीले बताए । ‘हाम्रो योजना अनुसार परिक्षणको लागि थप नमुना नपठाउन प्रयोगशालाले सूचित गरेको छ । क्वारेन्टाइनमा बसेका नागरिक १४ दिन भन्दा बढि क्वारेन्टाइनमा बस्न मानेका छैनन् ।, ‘नगरप्रमुख भण्डारीले भने, ‘उनीहरु पीसिआरको परीक्षणको माग गर्दै आन्दोलित भइरहेका छन् ।’

लामो समयसम्म क्वारेन्टाइनमा राख्दा उनीहरुलाई खानपिन तथा बसाई व्यवस्थापनमा नगरपालिकाको स्रोत साधन र आर्थिक अभाव भएको उनको भनाई छ । दुल्लू नगरपालिका सहित जिल्लाका अन्य स्थानीय तहले पीसिआर मेशिनको जिम्मा लिनेगरि दुल्लू अस्पतालमा जडान गर्न कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा पहल गरिएको नगरप्रमुख भण्डारीले जानकारी दिए । साथै दुल्लू अस्पतालको जनशक्ति व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दुल्लू नगरपालिकाले लिने उनको भनाई छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयले पनि मेशिनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले दुृल्लू अस्पतालमा मेशिन जडानका लागि आवश्यक पर्ने प्रयोगशालामा प्रयोग हुने सामाग्री तथा जनशक्ति व्यवस्थापन गर्न सक्ने अवस्था रहे वा नरहेको जानकारी गराउन नगरपालिकालाई पत्र पठाइसकेको छ । सोही पत्रअनुसार नगरपालिकाले जनशक्ति व्यवस्थापन र सञ्चालनको जिम्मेवारी लिनसक्ने बताएपछि अबको केही दिनमै मेशिन जडान गर्न सफल हुने नगरप्रमुख भण्डारीको दावी छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ