२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना नियन्त्रणमा लागेको १० अर्बको विवरण सार्वजनिक गर्न माग राख्दै प्रधानमन्त्रीलाई काँग्रेसको पत्र

कोरोना नियन्त्रणमा लागेको १० अर्बको विवरण सार्वजनिक गर्न माग राख्दै प्रधानमन्त्रीलाई काँग्रेसको पत्र


जुम्ला –  कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस जुम्लाले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउदै पत्र लेखेको छ । जिल्ला सभापति दिपबहादुर शाहीले संक्रमित संख्या ६ हजार नाघिसकेको र भाइरसबाट मृत्यु हुनेको संख्या १९ पुगेको अवस्थामा समेत नेपाल सरकारको काममा प्रभावकारिता नदेखिएकाले ध्यानाकर्षण गराउनु परेको बताएका हुन्।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले मंगलबार बुझाएको सो पत्रमा सरकारले कोरोना नियन्त्रणमा लागेको भनिएको १० अर्बको विवरण सार्वजनिक गर्न माग गरेको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘समयमा स्वास्थ्य सामग्री आपूर्ति गरिएन । अविश्वासनीय परिणाम आउने आरडिटी परीक्षण अहिलेसम्म भइरहनुले पनि नेपाली जनताले अतुलनीय क्षति व्यहोर्नु परेको हो । पर्याप्त मात्रमा पिसिआर परीक्षणको व्यवस्थापन गरिएन । संक्रमण पुष्टी भएका व्यक्तिलाई समयमा आइसोलेसन राखिएन । व्यवस्थित क्वारेन्टाइन, आइसोलेसन जस्ता महत्वपुर्ण कुरामा सरकार चुकेकोले अहिले समस्या भोग्नु परेको हो ।’

जिल्ला सभापति शाहीले कोरोना भाइरस माहामारी, त्यसबाट उत्पन्न परिस्थिति, तत्कालिन एवंम दीर्घकालिन प्रभावका विषयमा नेपाल सरकार र प्रधानमन्त्रीलाई प्रशासनमार्फत ध्यानाकर्षण गरिएको बताए ।

‘अहिले कोरोना भाइरस देशभर फैलिएको छ । संक्रमित व्यक्तिहरुको संख्या दिन प्रतिदिन सयौँका दरले बृद्धि भएको छ ।,’उनले भने, ‘तर कोरोना भाइरस फैलिन थालेको अहिले पाँचौँ महिना पुगिसक्दा पनि नेपाल सरकारले रोकथाम तथा नियन्त्रण गर्न सकेको छैन ।’

प्रतिपक्षी दल, सञ्चार माध्यम, नागरिक समाज र आम नागरिकको साथ सहयोगले सृजना गरेको अनुकुलताको बाबजुत पनि सरकारको असंवेदनसिलताले अनपेक्षित क्षति व्यहोर्नु परेको नेपाली काँग्रेसको आरोप छ ।

सरकारले लकडाउन ठिक ढंगले उपयोग गरेन । कोभिडको विरामी बाहेक अन्य मुटु, क्यान्सर, फोक्सो, मृगौला, गर्भवस्था जस्ता विरामीहरुको स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्न सकेन ।

कोरोना भाइरसले विश्व आक्रान्त भइरहेको अवस्थामा स्वास्थ्य सामग्रीमा पटक पटक अनियमितता तथा भ्रष्टाचार भएको घटनाले सवै नागरिकलाई स्तव्ध बनाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । कोरोना भाइरस नियन्त्रण कार्य गर्न १० अर्व खर्च भएको भनिएको छ । त्यो खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्न नेपाली काँग्रेस जुम्लाले माग गरेको छ ।

त्यसैगरी,  सामग्री आपूर्ति, क्वारेन्टाइन व्यवस्थापन, परीक्षण, अस्पतालको व्यवस्थापन, खर्च पारदर्शिता, राहत वितरण, विदेशबाट नागरिक उद्धार, कृषि खाद्य सुरक्षा र आर्थिक क्षेत्रमा सरकारले न्यायोचित भएर काम गर्न ध्यानाकर्षण गराएको छ  ।

ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । उनले कोरोना भाइरस संक्रमणको संवेदनशिल अवस्थामा भिडभाड हुने गरी यस्ता गतिविधि नगर्न सुझाए । उनले आगामी दिनमा पनि कुनै गतिविधि गर्दा सामाजिक दुरी कायम गरी मात्र काम गर्न आग्रह गरे ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ