२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसल्यानका बालबालिकालाई झाडापखालाविरुद्धको ‘रोटा खोप’ दिइने

सल्यानका बालबालिकालाई झाडापखालाविरुद्धको ‘रोटा खोप’ दिइने


सल्यान – सल्यानमा पहिलोपटक बालबालिकाहरुलाई झाडापखाला बिरुद्धको रोटा खोप शुरु गरिने भएको छ । आउदोँ साउन महिनाको पहिलो साता देखि नै जिल्लाभरका करिब ६ हजार बालबालिकाहरुलाई रोटा खोप शुरु गरिने भएको हो ।

बच्चा जन्मेको ६ हप्तामा पहिलो मात्रा र १० हप्तामा दोस्रो मात्रा गरी दुईपटक खोप दिन लागिएको हो । जसको लागि अहिले जिल्लाभर तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लास्तरमा सबै पालिकाहरुको सहभागितामा यसबारेमा समन्वय र छलफल तथा अभिमुखिकरण गरिएको छ भने सबै स्थानिय तहमा रहेका स्वास्थ्य शाखाहरुले पनि पालिकास्तरमा अभिमुखिकरणको कार्य गरिरहेका छन् ।

बालबालिकाहरुमा झाडापखाला विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि गर्न रोटा खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जानकारी दिए। पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो ।

उनले निरोगी र सक्षम व्यक्ति बनाउन गर्भ देखि नै खोप अभियानमा ध्यान दिनुपर्ने बताएका छन। विभिन्न रोग विरुद्ध लगाइने खोपलाई अनिवार्य बनाउन सके मात्रै बालबालिका निरोगी र सक्षम नागरिक बन्ने उनको भनाइ छ । उनले खोपकै भरमा रोगसँग लड्न सक्ने क्षमताको विकास हुने भन्दै अभिभाबक र स्वास्थ्यकर्मीको समान दायित्व हुने बताए । ‘नियमित खोप अभियानअन्तर्गत रोटा खोप दिइनेछ’ उनले भने, ‘यो खोप बच्चाहरूलाई मुखबाट दिइन्छ । जिल्लामा यसलाई सफल बनाउन तयारी भैरहेको छ, साउन देखि रोटा खोप सुरु हुन्छ ।’

केन्द्रिय तथ्यांक अनुसार हरेक वर्ष ५ वर्ष मुनिका करिब १२ लाख बालबालिका झाडापखालाबाट प्रभावित हुने गरेका छन् । यसमध्ये ४ लाख रोटा भाइरसकै कारणले प्रभावित हुने गर्दछन् । रोटा भाइरसले बालबालिकाको आन्द्रामा संक्रमण गराएर पखाला र वान्ता हुँदा जलवियोजन भएर बालबालिकाको मृत्यु हुने गरेको पाइन्छ । रोटा भाइरस विरुद्धको खोप लगाएपछि यसबाट हुने मृत्यूदरमा कमी आउने सरकारी लक्ष्य रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ