२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमूल बजार क्षेत्रकै व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा जारी

मूल बजार क्षेत्रकै व्यक्तिमा कोरोना संक्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा जारी


जुम्ला –  चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रमा व्यापारीलाई नै कोरोना संक्रमण देखिएपछि यहाँको सदरमुकाम खलङ्गामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायमा फैलिनबाट रोक्न भन्दै जुम्ला जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

संक्रमण रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन २०२८ को ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणबाट चन्दननाथ नगरपालिका – ५ को मूल बजार क्षेत्रको एक जना महिला व्यवसायीलाई समेत कोरोना भाइरसको संक्रमण देखिएपछि निषेधाज्ञा जारी गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । उनले भने, ‘भाइरस स्थानीय स्तरसम्म फैलिन सक्ने भएकाले निषेधाज्ञा जारी गरेको हो ।’

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा २०७७ असार ३० गते दिँउसो ३ बजे देखि अर्को निर्णय नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ । चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा जारी पत्रमा भनिएको छ, ‘औषधी पसल स्वास्थ्य सेवा बाहेक अरु सम्पूर्ण क्रियाकलाप पूर्णरुपमा बन्द गर्ने निर्णय भएको छ ।’

जुम्लामा ६५ जना कोरोना संक्रमित मध्ये ५१ जना निको भएर घर फर्केका छन् । त्यसैगरी, अहिले आइसोलेसनमा १४ जना रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । जिल्ला बाहिरबाट आएका यस जिल्लाका ४ हजार ४८६ जनाको पीसीआर परीक्षण भएको जनाएको छ । ४४२ जनाको आरडिटि परीक्षणमा एक जनाको रिपोर्ट भने पोजेटिभ देखिएको थियो ।

यसअगाडी गत जेठ २१ गतेदेखि २३ गतेसम्म स्थानीयले लकडाउनको उल्लंघन गरेको भन्दै जुम्ला सदरमुकाम खलङ्गामा ३ दिनको लागि निषेधाज्ञा जारी गरिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ