२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा कुपोषण दर घट्दो

जुम्लामा कुपोषण दर घट्दो


जुम्ला –  जुम्लामा कुपोषण दर घट्दो क्रममा  छ । स्वास्थ्य कार्यालय जुम्लाको पाँच बर्षको तथ्यांकलाई हेर्ने भने कुपोषण दर घट्दो क्रममा देखिएको हो।

२०७२ सालमा एक बर्ष मुनिका बालबालिका १० दशमलब ६ प्रतिशत, एक वर्षदेखि दुई वर्ष मुनिका १५ दशमलब ४ प्रतिशत र जन्मेदेखि दुई बर्षमुनिका १२ दशमलब ७ प्रतिशत कुपोषित रहेका थिए ।

त्यसैगरी, २०७३ सालमा एक बर्ष मुनिका बालबालिका १२ दशमलब ६ प्रतिशत, एक बर्षदेखि दुई बर्ष मुनिका १२ दशमलब ४ प्रतिशत र जन्मेदेखि दुई बर्षमुनिका १२ दशमलब ६ प्रतिशत कुपोषित रहेका थिए । २०७४ सालमा एक बर्ष मुनिका बालबालिका १० दशमलब ९ प्रतिशत, एक बर्षदेखि दुई बर्ष मुनिका १२ दशमलब ७ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ११ दशमलब ९ प्रतिशत कुपोषित रहेका थिए ।

२०७५ सालमा एक वर्ष मुनिका बालबालिका ७ दशमलब २ प्रतिशत, एक वर्षदेखि दुई वर्ष मुनिका १० दशमलब ८ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ९ प्रतिशत कुपोषित थिए । २०७६ सालमा एक वर्ष मुनिका बालबालिका ३ दशमलब ७ प्रतिशत, एक बर्षदेखि दुई वर्ष मुनिका ७ दशमलब ८ प्रतिशत र जन्मेदेखि दुई वर्षमुनिका ५ दशमलब ७ प्रतिशत कुपोषित छन् ।

०७२ सालमा ६५ जना, ०७३ सालमा १४८ जना, ०७४ सालमा २९२ जना, ०७५ सालमा १११ जना र ०७६ सालमा ८३ जना कुपोषित बालबालिकालाई स्वास्थ्य संस्थामै भर्ना गरी उपचार रहेको तथ्यांक रहेको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘यस वर्षको तथ्यांक आउन बाँकी रहेको छ ।’

यहाँको महिला तथा बालबालिकाको कुपोषण न्यूनिकरण गरी पोषणयुक्त बनाउनका लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालन गरेको छ । यस कार्यक्रमको प्राविधिक सहयोग भने मनहरी विकास संस्था (एमडिआई) नेपालले गरेको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।

यस कार्यक्रमको प्रमुख लक्ष्य भनेकै आमा तथा बाल स्वाथ्य र पोषणमा सुधार ल्याउने रहेको छ । यहाँका एक नगरपालिका र सात गाउँपालिकामा रहेका आमा र बच्चालाई सर्वाेत्तम ठिठो पोषणयुक्त खाना उपलब्द गराउदै आएको छ । त्यसैगरी सरकारले अन्य पोषण सम्बन्धिका कार्यक्रम पनि सञ्चालन गरेपछि कुपोषण दर न्यूनिकरण हुँदै गरिएको हो ।

तातोपानी गाउँपालिका – ५ लाम्रा गाउँकी सरिता चौलागाईका अनुसार गर्भवती, सुत्केरी महिला र बच्चालाई वितरण गरिदै आएको पोषणयूक्त आहार(सर्बाेत्तम पिठो) ले पोषणमा सुधार हुदै आएको बताए । उनले भने, ‘लकडाउनमा पनि नियमित वितरण हुदै आएकोले आमा र बच्चालाई सहज भएको छ ।’ यो खाना आमा र बच्चा दुवैले रुचाएर खाने गरेका छन् ।

त्यसैगरी, पातारासी गाउँपालिका – ३ चौरगाउँकी पन्नी रावतका अनुसार कोरोना भाइरसले लकडाउन भएपछि प्रभावित भएका आमा र बच्चालाई सर्बाेत्तम पिठो वितरण गर्दा राहत भएको छ । यसले पोषण सुधार गर्नका साथै भोकमरीबाट पनि बचाएको उनले बताइन् ।

एमडिआई नेपाल, जुम्लाका प्रमुख नविन रावलका अनुसार गर्भवती तथा सुत्केरी आमा सुनौलो हजार दिनभित्रका बालबालिकाको पोषण सुधार गर्नका लागि आमा तथा बाल स्वास्थ्य र पोषण कार्यक्रम सञ्चालनमा रहेको छ । सन् २०१४ देखि जुम्लामा सञ्चालित कार्यक्रमले प्रति महिना पोषणयूक्त आहारा उपलव्ध गराउने र तौल लिने काम गर्दै आएको उनले बताए ।

त्यसैगरी, पोषण र स्वास्थ्य सम्वन्धी परामर्श गर्ने गरिएको छ । २ हजार ७४६ सुत्केरी, गर्भवती र ४ हजार ५७ जना बालबालिका गरी ६ हजार ८०३ जनालाई २० हजार ४०९ मेट्रिक टन पोषणयुक्त आहार(पोषिलो लिटो) वितरण गर्दै आएको प्रमुख रावलले बताए ।

गर्भवती र सुत्केरी आमालाई पोषण आहारा

चन्दननाथ नगरपालिकाले सुनौलो हजार दिन भित्रका आमाहरुलाई पोषणयुक्त आहारासहितको झोला वितरण गरेको छ । नगरपालिकाकोे ३० जना आमाहरुलाई पोषण झोला वितरण गरेको हो । चन्दननाथ १ र ४ का सुनौला हजादिनका आमाहरुलाई पोषण झोला वितरण गरिएको स्वास्थ्य शाखा स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए ।

दुवै वडाका १५-१५ जना आमाहरुलाई पोषण झोला वितरण गरेको उनले बताए । सुरक्षित मातृत्व तथा सुत्केरीको पोषण अवस्था सुधार गर्ने उद्देश्य रहेको स्वस्थ्य शाखा निरिक्षक महतको भनाइ छ । प्रत्येक आमाहरुलाई पाँच किलो मार्सी चामल, एक लिटर तेल, दुई किलो सिमीको दाल, पाँच किलो आटा, एक क्यारेट अण्डा, एक चक्की नुहाउने साबुन, मन्जन, ब्रस, रायोको बिउँ र गाजरको बिँउ वितरण गरिएको हो ।

सुत्केरी आमालाई पोषण उपलब्धता तथा मातृशिशु मृत्यदर कम गर्नु प्रमुख उद्देश्य रहेको महतको भनाइ छ । बहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गतको बजेटबाट नगरपालिकाले पोषण झोला वितरण गरेको हो । युुनिसेफ र बहुुक्षेत्रीय पोषण योजनाको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाको आयोजनामा सुनौलो हजार दिनभित्रका सुत्केरी आमालाई पोषण तथा सरसफाइ सामाग्री सहितको झोला प्रदान गर्दा आमाहरु हर्षित भएका थिए ।

आमाहरुलाई पोषण झोला वितरण गर्दै महिलाका पीडा महसुस गरी नगरपालिकाबाट आमालाई सानो सहयोग कार्यक्रम संचालन गरिएको नगर प्रमुख कान्तिका सेजुवालले बताए । नवजात शिशु र आमाको पोषण अवस्थामा सुधार ल्याउनका लागि पोषण झोला वितरण गरेको थियो ।

गर्भावस्था देखि नै पोषणमा विशेष ध्यान दिनुपर्ने, नियमित स्वास्थ्य संस्थामा चेकजाँच र प्रसुति गृहमा नै सुत्केरी गराउनुपर्ने बताउँदै बच्चा जन्मीएपछि आमाले नियमित पोषिला खानेकुरा खानुपर्ने नगरप्रमुुख सेजुवालले सुझाइन ।

कुपोषण हटाउने सरकारको लक्ष्य

सरकारले २०३० कुपोषणलाई अन्त्य गर्ने लक्ष्य लिएको छ । सरकारको लक्ष्यलाई राष्ट्रिय पोषण अभियानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै बहुक्षेत्रीय पोषण योजनालाई प्रदेश र स्थानीय तहबीचको समन्वयमा अझ प्रभावकारी बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण कृषिमा आधारित देश भएकाले खाद्यान्नमा आत्मनिर्भर हुन र जैविक खेती अपनाउन, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन तथा कुपोषण अन्त्यमा ध्यान दिन सरकार निकाय गम्भीर रहेको छ । २०३० सम्म कुपोषण अन्त्य गर्ने संघीय सरकारको लक्ष्य पूरा गर्न कर्णाली सरकारको पनि लक्ष्य रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ