२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला कोरोनामुक्त, स्वास्थ्यकर्मीलाई सम्मान

जुम्ला कोरोनामुक्त, स्वास्थ्यकर्मीलाई सम्मान


जुम्ला – जुम्ला कोरोना भाइरस संक्रमण मुक्त भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा एक जना संक्रमित आइतबार निको भएर घर फर्केपछि जुम्ला कोरोना भाइरस संक्रमण मुक्त भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनमा बाँकी रहेका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या जुम्लामा शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले बताए । प्रतिष्ठानका बिशेषज्ञ डा. गुरुङले शुरु शुरुमा कोभिड कम भएपनि बिचमा बढ्यो तर डर घट्यो, जुम्लालाई यो स्थानमा ल्याउन सबै पक्षको सहयोग रहेकाले नतिजा सवैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउदा अझै भेटिन सक्ने भन्दै सवै अझै सजग हुनुपर्ने सुझाब दिए । उनले नागरिकलाई सजग बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुले गरेको सहयोग अतुलनीय रहेको बताए । उनले हुम्ला, मुगु, दैलेख, कालिकोट सहित आवश्यकता परेको स्थानमा काम गर्ने स्वास्थ्यकर्मीहरु, अस्पतालमा डट्नुभएका र स्थानीय प्रशासन, राजनैतिकदल पत्रकारहरु सवैको सहयोगले प्रतिष्ठानलाई काम गर्न उर्जा मिलेकोमा खुशी व्यक्त गरे ।

संक्रमित शुन्य भएपछि कोभिड बिरुद्धको अभियानमा काम गर्ने सवै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । जिल्लामा सवै उपलव्ध नहुने भएकोले सांकेतिक रुपमा उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको हो । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोना विरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।

सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अहिले संकटको समयमा स्वास्थकर्मी नागरिकका लागि बास्तविक नायक सावित भएको भन्दै उत्साह दिए । उनले अझैपनि राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताए ।
जिल्लामा बाहिरबाट फर्किएको १२ हजार १२९ जना मध्ये ४ हजार ८८७ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये ६९ जनालाई कोरोना संक्रमण देखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

उनले भने, ‘आइसोलेसनमा रहेका एक जना आइतबार निको भएर गएपछि जुम्ला जिल्ला कोरोना मुक्त भएको हो । ६९ जना संक्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी ४०९ जनाको आरडिटी परीक्षण गरिएको थियो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ