२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमास्क प्रयोग नगर्ने १ सय ९ जनालाई कारवाही

मास्क प्रयोग नगर्ने १ सय ९ जनालाई कारवाही


जुम्ला– मास्क प्रयोग नगरी हिडडुल गर्ने १ सय ९ जनालाई जुम्ला प्रहरीले कारवाही गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार मास्क लगाउन अटेर गर्ने १ सय ९ जनालाई शुक्रबार कारवाही गरिएको हो ।

यसमध्ये ५२ जना बालबालिकालाई सम्झाएर पठाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । ‘अहिले जिल्लामा मास्क नलगाउने कम मात्र छन् । ९० प्रतिशतले मास्क प्रयोग गरेरै हिड्ने गरेका छन्,’ उनी भन्छन्, ‘अधिकांशले खल्तीमा मास्क बोकेर हिड्ने तर प्रहरी देखेपछि मात्र प्रयोग गर्ने गरिएको पाइएको छ ।’

सदरमुकाम खलंगाको बालमन्दिर, कालेखोली चोक र बसपार्कमा प्रहरी परिचालन गरिएको छ । प्रहरी नायव उपरीक्षक धामी भने, ‘मास्क नलगाउनेलाई समातेर सचेतना दिने, मास्क लगाउन भन्ने र अटेर गर्नेलाई कारवाही गर्ने गरिएको छ ।’

शुक्रबार नै मास्क प्रयोग नगरी हिडडुल गर्नेबाट १० हजार बढी राजश्व संकलन भएको छ । बिहिबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा आफैँ घरदैलोमा पुगेर मास्क वितरण गरेका थिए । उनले मास्क लगाएर कोरोना भगाउनको लागि आग्रह गरेका थिए । सामाजिक दुरी कायम गर्न र मास्क सेनिटाइजर र साबुन पानीले नियमित हात धुन आमनागरिकलाई सचेत गराएका थिए ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहँदा जुम्लामा उच्च सतर्कता अपनाइएको छ । जुम्लामा ८ सय क्वारेन्टिन बेड छन् । एक सय २० बेडको आइसोलेसन छ । जुम्लाका ६९ जना संक्रमित निको भएर घर फर्किएका छन् । जुम्लामा हालसम्म ४ हजार ९ सय १३ जनाको कोरोना परीक्षण गरिएको हो । अहिले पातारासी गाउँपालिकाको क्वारेन्टाइनमा ८ जना मात्रै बसेका छन् भने २ हजार ७ सय १५ जना घर फर्केको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ