२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेत प्रयोगशाला हाँकिरहेका पोखराका ओमराज

सुर्खेत प्रयोगशाला हाँकिरहेका पोखराका ओमराज


सुर्खेत— कर्णाली प्रदेशमा ५ जेठमा पहिलो पटक कोरोना भाइरस (कोभिड—१९) को पहिलो केस पुष्टि भएको हो । दैलेखको आठबिस नगरपालिकामा भारतबाट फर्किएका ३५ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि लगातार कोरोना संक्रमण बढ्न थाल्यो ।

संक्रमण बढेसँगै सुर्खेत प्रादेशिक अस्पतालअन्तर्गतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कोरोनाका सम्भावित संक्रमितहरुको स्वाबहरु आउने क्रम बढ्न थाल्यो । सुरुवाती समयमा कर्णालीको एकमात्र प्रयोगशाला भएकाले पनि यो प्रयोगशालामा परीक्षणको चाप उच्च थियो । तापनि, पोखराका ओमराज आचार्यको नेतृत्वमा प्रयोगशालाको टोलीले दिनरात खटेर कोरोना परीक्षणलाई तीब्रता दिइरहेको थियो ।

प्रयोगशालाको १० जनाको सानो टिमले दैनिक २ सय ५० वटासम्म स्वाब परीक्षण गर्दै आएको छ । ‘सुरुवाती चरणमा निकै चाप थियो,’ आचार्य सुनाउँछन्, ‘हामी रातिसम्म जाग्राम बसेर स्वाब परीक्षणमा खटियौं ।’ प्रदेश तथा अन्य प्रदेशबाट समेत आएका स्वाबहरुको परीक्षण, प्रयोगशालाको व्यवस्थापन गर्ने, सहकर्मी परिचालनदेखि रिपोर्टिङसम्मको काम आचार्यले नै गरिरहेका छन् ।

सुरुवाती समयमा नयाँ तीब्र गतिमा फैलिने भाइरस भएका कारण प्रयोगशालामा खटिने टिममा पनि डर थियो । टिमको मनोबल अभिवृद्धिदेखि प्रयोगशाला निरन्तर काम गर्नुपर्ने दायित्व उनमा थियो । त्यसैले डरलाई कर्तव्यले जित्दै सुर्खेत प्रयोगशालाको टोली निरन्तर फ्रन्टलाइनमा रहेर काममा जुट्यो । ‘सुरु–सुरुमा कोरोना नयाँ भाइरस भएकाले डर लाग्थ्यो । तर, अहिले त्यस्तो छैन । मज्जाले काम गर्न सकिन्छ,’ उनी सुनाउँछन् ।

उच्च संक्रमणको जोखिम भएकाले कोभिड—१९ को स्वाब परीक्षणमा अलिअलि डर लागेको उनी बताउँछन् । ‘हामी पोजेटिभ नमुनाको रससँग खेल्नुपर्ने भएकाले प्रत्यक्ष सम्पर्कमै हुन्छौं’ आचार्यले भने, ‘त्यसैले उच्च सतर्कता अनपाएर काम गर्नुपर्छ ।’ कोरोना परीक्षणमा खटिएसँगै शंकास्पद नमुनाको रससँग खेल्नुपर्ने दायित्व उनको टिमलाई आइपरेको छ । ‘घरबाट पनि निराशा भरिएका स्वरुहरु सुन्निछन्,’ उनले फ्रन्टलाइनर हुँदाको अनुभूति बाँडे, ‘तर, हामी एवान क्याटागोरीको पीपीई लगाएर पूर्ण सावधानीका साथ काममा खटिएकोले चार महिनाको अवधिसम्म कसैलाई कोरोना पोजेटिभ देखिएको छैन ।’

अहिले पनि उनको नेतृत्वको टिम दैनिक १२ घण्टा बढी काममा खटिन्छ । ‘सुरुवाती चरणमा प्रदेशका अन्य जिल्लामा प्रयोगशाला स्थापना नभएकाले नमुनाहरु सुर्खेत र जुम्लाबाट परीक्षण हुने गथ्र्यो,’ आचार्यले भने, ‘त्यो बेला रातिको तीन बजेसम्म पनि काम ग¥यौं । अहिले पनि दैनिक १२ देखि १३ घण्टा काममा खटिएका हुन्छौ ।’ दिनमा २४ घण्टा जोखिम मोलेरै भएपनि काममा खटिएर सरकारलाई सहयोग गर्न पाउँदा आफू गौरवान्वित महसुस भएको उनले बताए ।

प्रयोगशाला स्थापना भएको दिनदेखि शुक्रबारसम्म यो प्रयोगशालाबाट मात्र १८ हजार चार सय ५२ नमुना परीक्षण भैसकेको छ । ‘२० चैतदेखि अस्पतालको सानो मेसिनबाट प्रयोगशालाको काम सुरु भएको थियो,’ उनी सम्झन्छन्, ‘दैनिक १५ वटा मात्र स्वाव परीक्षण क्षमता भएको उक्त मेसिनले धान्न नसक्ने भएपछि २६ दिनपछि ठूलो मेसिन जडान गरेर काम सुरु गरेका हौं ।’

सुर्खेतपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा प्रयोगशाला स्थापना भएको हो । त्यसपछि अहिले प्रदेशका अन्य दुई जिल्ला दैलेख र रुकुमपश्चिममा समेत पिसिआर प्रयोगशाला स्थापना भएर स्वाबहरु परीक्षण हुन थालेका छन् । अहिले प्रदेशका सबै प्रयोगशालाबाट ४० हजारभन्दा बढी पिसिआर परीक्षण भैसकेको छ ।

को हुन आचार्य ?

पोखरा उपमहानगरपालिका—१५ मा विं.सं. २०२४ साल फाल्गुनमा जन्मिएका हुन्, ओमराज । बुवा पुष्पराज आचार्य र आमा बसुन्धरा आचार्यका माइला सन्तान उनले स्थानीय अमरसिंह माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन । एसएलसीपछि उनको सपना मेकानिकल इन्जिनियर बन्ने थियो ।

तर, विभिन्न कारणले गर्दा आफ्नो सपनाअनुसारको विषय अध्ययन गर्न सकेनन् । बरु, परिवारको सल्लाहमा प्याथोलोजी सेवातर्फ उनको यात्रा मोडियो । उनलाई अध्ययनको अवसर इन्टरनेशनल नेपाल फेलोसीप (सिएनएफ) जुराइदिएको हो । पढाइमा अब्बल भएकाले उनले सधैं राम्रो अंक ल्याएर परीक्षा उत्तीर्ण गर्थे । ‘मैले पढ्नका लागि पैसा खर्च गर्नै परेन्,’ उनी भन्छन्, ‘म छात्रवृत्तिमै पढेको हुँ ।’

वि.सं. २०४४ सालबाट जागिर सुरु गरेका हुन्, उनले । त्यसको चार वर्षपछि अर्थात २०४८ सालमा सुर्खेत आए । सिएनएफको स्टाफका रुपमा उनी त्यतिबेला सुर्खेत आएका थिए । सरकारी सेवामा भने उनी निकैपछि वि.सं. २०६२ सालमा प्रवेश गरेका हुन् । अहिले उनी कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको प्रयोगशाला प्रमुखको रुपमा कार्यरत छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ