२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेश आयुर्वेद औषधालय, बिरामी छन् पर्याप्त औषधि छैन

कर्णाली प्रदेश आयुर्वेद औषधालय, बिरामी छन् पर्याप्त औषधि छैन


विवशकुमार सेजुवाल

वीरेन्द्रनगर—वि.सं. २०५० सालमा स्थापना भएको कर्णाली प्रदेशको प्रदेश औषधालयको अवस्था नाजुक छ । तत्कालीन क्षेत्रीय औषधालयको रुपमा रहेको यो औषधालय तीन सरकारको मातहतमा गइसकेको छ । पहिला संघीय सरकार, त्यसपछि स्थानीय सरकार र अहिले प्रदेश सरकारको मातहतमा आएको छ । औषधालयमा कर्मचारीको अभाव छ ।

उपचारका लागि कर्णाली प्रदेशका प्रायः सबै जिल्लाबाट बिरामी आउँछन् । तर, यो औषधालयमा आवश्यक सेवा नपाएको स्थानीयवासीको गुनासो छ । पर्याप्त औषधि अभावका कारण बिरामी मर्कामा छन् ।

कालीकोट रास्कोट नगरपालिकाका दधि तिरुवाले कर्णाली औषधालयमा उपचार गर्न लागेको ३ वर्ष भयो । ‘मलाई दम छ, छातीमा समस्या छ । यो औषधालयको औषधि खाएपछि सन्चो हुन्छ,’ उनले भने, ‘कालीकोटबाट आउनुपर्छ डाक्टर सापले औषधि धेरै दिनु हुन्न । एक महिनालाई दिएको औषधि तीन महिना पु¥याएर खान्छु,’ उनले दु:खेसो पोखे ।

सुर्खेत रानीघाटकी राममाया बुढाको पीडा पनि उस्तै छ । उनले पनि आफूले पर्याप्त औषधि नपाएको गुनासो पोखिन् । माग अनुसार औषधि नदिनुमा यो औषधालयको आफ्नै बाध्यता छ । पर्याप्त औषधि उत्पादन नहुँदा र औषधि बनाउने मेसिन पनि बिग्रिदा औषधालयले मागअनुसारको औषधि दिन सकिरहेको छैन् । अहिले अस्पतालमा स्थापनाकालमा ल्याइएका जापानी प्रविधीका ३ वटा मेसिन काम नलाग्ने भएर बिग्र्रिएका छन् । ड्राई मेसिन, स्टीप मेसिन, डिक्स् मिल पाउडर मेसिन अहिले बिग्रिएर थन्किएका छन् ।

औषधालयमा आयुर्वेदिकका विभिन्न औषधिहरु उत्पादन गरेर कर्णाली प्रदेशका १० जिल्लामा निःशुल्क वितरण गर्ने योजना बनाइएको छ । तर, पाउडर उत्पादन गर्ने मेसिन मात्रै संचालनमा छ । अन्य मेसिनहरु ल्याएको एक महिना बिग्रेका छन् ।

मेसिन बनाउनको लागि जनशक्ति पनि छैन । ‘त्यो बेला मेसिन मात्र पठाइयो । मेसिन बनाउनका लागि प्रवाधिक भएन । पछि भारतबाट टेक्नीसियन आयो तर पेस्की रकम लगेपछि फर्किएन्,’ आयुर्वेद औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले भने ।

औषधालय प्रदेश सरकार मातहत भएपनि अहिलेसम्म कर्मचारीहरुले तलब स्थानीय सरकारबाट खाने गरेका छन् । समय—समयमा औषधालयको नाम फेर्ने काम भएपनि यो पटक भने प्रदेश सरकारको तर्फबाट थोरै सहयोग छ । ‘पुराना मेसिनमध्ये पाउडर बनाउने मेसिन मात्रै प्रयोगमा आएको छ,’ आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजालले भने । अहिले प्रदेश सरकारले आयुर्वेद तथा वैकल्पिक अस्पतालका लागि डि.पि.आर. तयार गरिसकेको उनले बताए । यसबाट कर्णालीका १० जिल्लाले सेवा पाउने र कर्णालीमा पाइने सबै जडिबुटीको कर्णालीमा नै उपभोग गर्ने लक्ष्य रहेको डा. रिजालले दाबी गरे ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विक आयुर्वेद औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालका रुपमा विकास गर्न आफूहरु लागि परेको बताउँछन् । धेरै किसिमका आयुर्वेद औषधि उपत्पादनको योजना रहेको उनले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ