२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड–१९ हटस्पट नेपालगंजमा ‘कास स्क्वायड’

कोभिड–१९ हटस्पट नेपालगंजमा ‘कास स्क्वायड’


जुम्ला-नेपालमा कोभिड–१९ को दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि लुम्विनी प्रदेशको बाँके जिल्ला हटस्पट बनेको छ । भारतसँग जोडिएको रुपडियाँ नाका भएकोले पनि नेपालगंज बाँके कोभिडबाट बढी प्रभावित भएको हो ।

कोभिड–१९ को संक्रमणको हटस्पट बनेको नेपालगंजको भेरी अस्पताल संक्रमित थेग्न नसक्ने अवस्था सिर्जना भयो । अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी संक्रमित भएँ । स्वास्थ्यकर्मी आफू संक्रमित हुँदा पनि नागरिकको जीउज्यान बचाउनका लागि उपचारमा खटिनुपर्ने अवस्था रह्यो ।

कोभिड–१९ संक्रमणले भेरी अस्पताल त्यहाँका स्वास्थ्यकर्मीले बिरामी चाप थेग्न नसकेपछि स्वास्थ्य मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) जुम्लाका चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटायो ।

नेपालगंजस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएपछि प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको ६ जनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटाएको थियो । उनीहरु १९ बैशाखदेखि भेरी अस्पतालमा सेवा गर्दै आइरहेका छन् ।

डा. गिरी भन्छन्, ‘दिनदिनै मानिसको मृत्युको दर बढ्न थाल्यो । अस्पतालमा वेड, अक्सिजन अभाव हुँदै गएका छन् । अस्पतालमा कोभिडका बिरामी भरीभराउ छन् ।’

डा. गिरीकाअनुसार भारतको सीमावर्ती सहर भएकाले बाँके कोरोनाबाट बढी प्रभावित भएको हो । उनको टोली अहिले बाँकेको रापतापमा मानिसको ज्यान जोगाउन डटिरहेको छ । नेपालगंजमै दैनिक ८÷१० जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ । ‘पहिले त कठिन लाग्यो अहिले भेरी अस्पतालमा काम गर्न बानी पर्न थालेको छ,’ डा. गिरीले सुनाए ।

कर्णाली प्रतिष्ठानबाट गएको आधा टिमले १० देखि ५ बजेसम्म आधा सिफ्ट डियुटीमा गरिरहेको छ । जुम्लाबाट आएको चिकित्सकको टोली शुक्रबारदेखि आइसोलेसनमा बस्ने तयारी गरेको छ । टिमले अहिलेसम्म कोरोना परीक्षण समेत गरेको छैन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका भेरी अस्पतालमा सेवारत चिकित्सक डा. अरुण श्रेष्ठ आफूहरु जुम्लामा शान्त मनस्थितिमा काम गरिरहेका बताउँछन् । तर, नेपालगंजमा आएपछि नयाँ लागेको उनले बताए । ‘अरु त यस्तै हो । हेर्दाहेर्दै विरामीको मृत्यु हुँदा पीडा हुने गर्दछ,’ उनले भने । संक्रमित बिरामीसँग धेरै कुरुवा आउने भएकाले संक्रमण बढिरहेको अनुभव उनको छ ।

जुम्लाको चिसो हावा, बाक्लो कपडामा काम गरिरहेका चिकित्सक टोलीलाई नेपालगंजको चढ्दो गर्मी गर्मी, बढ्दो कोरोना संक्रमणमा काम गर्नु परिरहेको छ । ‘४० देखि ४४ डिग्रीसम्मको तापक्रममा भेरी अस्पतालमा पिपिई सेट लगाएर काम गर्नुपर्छ । हिक्मत गरेर आइयो, सेवा गरिरहेका छौं,’ उनले भने ।

नर्स तेन्जिङ तामाङ घरमा एक्लै आमा छोडेर नेपालगंजको भेरी अस्पतालमा बिरामी सेवामा तल्लीन छन् । ‘आमा बिरामी हुनुहुन्छ । तर, पनि मलाई आफ्नो पेशा र सेवा महत्वपूर्ण हो भन्ने लाग्छ,’ यी बहादुर नर्स सुनिइन् ।

उनलाई महामारीमा कोभिड–१९ विरुद्ध फ्रन्टलाइनमा खटिदा चुनौतीसँगै धेरै कुरा सिक्ने अवसर पनि मिलेको छ । ‘सुरुमा कठिन लागेको थियो,’ उनी भन्छिन्, ‘अहिले सजिलो हुँदै गइरहेको छ । संक्रमणले अझै डर लाग्दो रुपमा बढिरहेको छ ।’ हरेक दिन वेडमा रहेका बिरामी भोलिपल्ट नभएको दृश्यले भने उनलाई पीडा हुन्छ । ‘तर, आत्तिने कुरा भएन । जतिसक्दो बिरामी बचाउने प्रयास गर्ने हो,’ उनले भनिन् ।

सघन उपचार विभागका प्रमुख डा. गिरी, डा. श्रेष्ठ र नर्स तेन्जिङजस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य स्क्वायड भेरीमा अस्पतालको फ्रन्टलाइनमा रहेर बिरामी बचाउन लागिरहेको छ । स्क्वायडमा डा. हरि न्यौपाने, नर्स सुष्मिता खड्का र पारामेडिक्स नरेन्द्र शर्मा छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ