२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगाउँ नै संक्रमणले प्रभावित भएपछि जुम्लाको रावतवाडा सिल

गाउँ नै संक्रमणले प्रभावित भएपछि जुम्लाको रावतवाडा सिल


जुम्ला—जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतवाडा गाउँ एक साताको लागि सिल गरिएको छ । कोभिड—१९ संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो । गाउँपालिकास्तरीय कोभिड—१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ जेठसम्म रावतवाडा गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।

उनकाअनुुसार बाहिरबाट आएको कुनै पनि व्यक्ति गाउँमा प्रवेश पाउने छैन । रावतवाडा र खड्कावाडाबीच आवतजावत पनि बन्द गरिएको छ । यी दुबै जोडिएका गाउँ हुन् । गाउँमा कोभिड—१९ संक्रमित बढ्न सक्ने भएकोले गाउँपालिकाले आइसोलेसन थप गर्ने निर्णय गरेको अध्यक्ष न्यौपानेले बताए ।

मंगलबार गाउँका २७ जनामा एन्टीजेन परिक्षण गरेकोमा ९ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको थियो । संक्रमित सबैलाई गाउँपालिकाले बनाएको आइसोलेसनमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलागाईंले बुधवार गाउँका ५५ घरधुरीका १ सय ९ जनाको पिसिआरका लागि स्वाब संकलन गरिएको बताए । परीक्षण गरिएको स्वाबको नतिजा आइसकेको छैन ।

गाउँमा कोरोना संक्रमण भयाभह हुन सक्ने अवस्था आयो । गाउँपालिका स्वास्थ्य संयोजक चौलागाईले भने, ‘गाँउ नै सिल गर्ने निर्णय भयो ।’ विगत एक सातादेखि गाउँमा कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि गाउँपालिकाको सक्रियतामा उच्च सतर्कता अपनाएको हो । एकै पटक ठूलो संख्यामा कोरोना पुष्टि भएपछि गाउँमा जनस्वास्थ्य सेवा कार्यालयको टोली बोलाएर पिसिआरका लागि स्वाब संकलन गरिएको हो ।

यसअघि रावतवाडा गाउँमा विवाहलगायतका सामूहिक गतिविधि तीब्र भएका थिए । काठमाडौं, सुर्खेत र भोजपुरलगायतका जिल्लाबाट मान्छे भित्रिएका थिए । गाउँमा कोभिड—१९ लक्षणका बिरामी बढेको थाहाँ पाएपछि वडाध्यक्ष विशाल खड्का स्वास्थ्यकर्मीसहित गाउँमा पुगेका थिए । उनले बिरामीको अवस्थाबारे जानकारी लिएर पहिलो दिन एन्टीजोन परीक्षणका लागि कोभिड अस्पतालमा २७ जनालाई पठाएका थिए । गाउँमा स्वास्थ्यकर्मी, जनप्रतिनिध र कर्मचारी पुगेर सचेतना फैलाउनेदेखि लक्षण अनुसारको औषधि दिने गरिएको स्वास्थ्य शाखा संयोजक चौलागाइले जानकारी दिए ।

जुम्लामा कोरोना संक्रमितको संख्या ४२८ पुगेको छ भने १८९ जना निको भएका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालय जुम्लाले पिसिआर, एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दै आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ