२०८३ वैशाख २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशयोग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए

योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूरो सर्जरी गरेर बिरामी बचाए


जुम्ला—साता बढी सञ्चालन भएको योग शिविरमा पुगेका डा. निलम खड्काले बिरामी बचाएका छन् । काठमाडौंको वीर अस्पतालका न्युरो सर्जन प्रा.डा. निलम खड्काले अस्पतालले रेफर गरिसकेका बिरामीको शल्यक्रिया गरेर ज्यान बचाएका हुन् ।

पातारासी गाउँपालिका–३ छुमगाउँका गोरबहादुर बोहोराको सफल शल्यक्रिया गरेका हुन् । १८ बैशाखमा घरको छतबाट लडेर घाइते भएका बोहोराको टाउकोमा गम्भीर चोट लागेको थियो ।

बेहोस अवस्थामा प्रतिष्ठान ल्याएर भेन्टिलेटरमा राखिएका उनको तत्काल न्युरो सर्जरी आवश्यक थियो । तर, प्रतिष्ठानमा न्युरो सर्जन नभएकोले अस्पतालले रेफर गर्ने तयारी गरेको थियो ।

तर, जुम्लामा जहाज आएन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो सर्जन र आवश्यक उपकरण समेत छैनन् । टाउको सम्बन्धी गम्भीर बिरामी रेफर गर्नुको विकल्प छैन । गुठिचौर गाउँपालिकामा ध्यान शिविरका लागि न्युरो सर्जन प्रा.डा. खड्का जुम्ला आएका थिए ।

यसै बेलामा बिरामीलाई रेफर हुन नसकेपछि उनको शल्यक्रिया गरिएको हो । बिरामीको अवस्था देखेर डा. खड्काले उपकरणको अभावका बीचमा शल्यक्रिया गरेका हुन् । बिरामीको टाउकोमा जमेको रगत निकालिएको छ ।अहिले बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको यो शल्याक्रिया अहिलेसम्मकै ठूलो हो । ट्रमा सेन्टर काठमाडौंमा समेत न्युरो सर्जनका रुपमा कार्यरत डा. खड्काले झण्डै सात घण्टा लगाएर शल्यक्रिया गरिएको बताए । आर्थिक रुपमा निकै विपन्न गोरबहादुर काठमाडौं पुगेर उपचार गर्न सक्ने अवस्थामा थिएनन् ।

अस्पतालमा न्युरो सर्जरीका लागि चाहिने उपकरण पनि थिएनन् । विगतमा नाक, कान र घाँटीको शिविरमा आएको टोलीले छोडेका सामग्रीको सहायताले शल्यक्रिया सम्भव भएको डा. खड्काले बताए । गुठिचौर गाउँपालिकामा १० दिने ध्यान शिविरका लागि आएका डा. खड्काले अस्पतालसँगको समन्वयमा शल्यक्रिया सफल भएको बताए । डा. खड्कासँगै डा. निर्मल थापा र इमर्जेन्सी वार्डका वरिष्ठ चिकित्सक रमेश काफ्लेलगायतको टोली शल्यक्रियामा संलग्न थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ