अमेरिकी मनोचिकित्सक तथा स्नायु वैज्ञानिक कार्ल डाइसरथ र उनका जर्मन सहकर्मी पिटर हेगेम्यान तथा जर्ज नागेललाई यस वर्षको शरीर विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।
उनीहरूलाई मस्तिष्कका स्नायु कोष तथा तिनका सञ्जाललाई प्रकाशको माध्यमबाट नियन्त्रण गर्न सकिने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मान गरिएको हो ।
उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कभित्र हुने जटिल गतिविधि बुझ्न नयाँ बाटो खोलिदिएको छ । यसबाट मानिसको मस्तिष्कले कसरी काम गर्छ, स्मृति कसरी निर्माण हुन्छ, भावना कसरी उत्पन्न हुन्छ र व्यवहार कसरी निर्देशित हुन्छ भन्ने विषयमा अझ गहिरो अध्ययन गर्न सम्भव भएको छ ।
नोबेल समितिले यी तीन वैज्ञानिकको अनुसन्धानले स्नायु विज्ञानमा नयाँ युगको आधार तयार गरेको जनाएको छ । उनीहरूले विशेष स्मृति, भावना तथा व्यवहारसँग सम्बन्धित स्नायु सञ्जाललाई सक्रिय वा निष्क्रिय पार्ने तरिका विकास गर्न महत्वपूर्ण योगदान दिएका छन् । यसले स्नायु तथा मानसिक रोगको अध्ययनमा समेत नयाँ सम्भावना खोलिदिएको छ ।
‘मस्तिष्कबारे हाम्रो बुझाइ नै परिवर्तन भयो’
नोबेल सभाका अनुसार, अप्टोजेनेटिक्सले मस्तिष्कबारे वैज्ञानिकहरूको बुझाइलाई आधारभूत रूपमा परिवर्तन गरेको छ ।
प्रकाशको प्रयोग गरेर मस्तिष्कका निश्चित स्नायु सञ्जाललाई सक्रिय वा निष्क्रिय पार्न सकिने भएपछि वैज्ञानिकहरूले स्मृति, भावना र व्यवहारसँग सम्बन्धित स्नायु कोषहरूको भूमिका प्रत्यक्ष रूपमा अध्ययन गर्न थालेका छन् ।
पुरस्कार विजेताहरूले नोबेल पुरस्कार प्राप्त गर्नु आफूहरूका लागि ‘अत्यन्तै अद्भुत’ क्षण भएको बताएका छन् । आफ्ना सहकर्मी तथा मित्रहरूसँग यस्तो सम्मान बाँड्न पाउनु ठूलो सम्मान भएको उनीहरूको प्रतिक्रिया छ ।
तीनै वैज्ञानिकले करिब ९ लाख पाउन्ड अर्थात् १ करोड २० लाख स्विडिस क्रोनर बराबरको पुरस्कार राशि बाँड्नेछन् ।
अप्टोजेनेटिक्स भनेको के हो?
नोबेल समितिका अध्यक्ष पेर स्वेनिङ्सनका अनुसार, अप्टोजेनेटिक्सले वैज्ञानिकहरूलाई कुनै समय केवल कल्पना गर्न सकिने मस्तिष्कको नक्सा तयार गर्ने अवसर दिएको छ ।
विगतमा मानिसका भावना, व्यवहार र शरीरका विभिन्न गतिविधिको पछाडि मस्तिष्कभित्र वास्तवमा के भइरहेको हुन्छ भन्ने कुरा वैज्ञानिकहरूका लागि धेरै हदसम्म रहस्य थियो ।
अप्टोजेनेटिक्सले विशेष प्रोटिनको प्रयोग गर्छ । यो प्रोटिन शैवालबाट प्राप्त गरिएको हो र प्रकाशको माध्यमबाट स्नायु कोषको विद्युतीय गतिविधि नियन्त्रण गर्न सकिन्छ ।
सन् २००० को सुरुवाती दशकमा पिटर हेगेम्यान र जर्ज नागेलले प्रकाशप्रति विशेष प्रतिक्रिया जनाउने ‘च्यानलरोडोप्सिन’ नामक शैवालको प्रोटिन पत्ता लगाए ।
त्यसपछि कार्ल डाइसरथले यही प्रकाश-संवेदनशील प्रोटिनलाई प्रयोग गरेर मुसाको मस्तिष्कमा स्नायु कोषलाई प्रकाशका माध्यमबाट सक्रिय पार्ने तरिका विकास गरे ।
त्यसयता वैज्ञानिकहरूले जनावरका स्नायु कोष तथा तिनका सञ्जालको अध्ययन गर्दै तिनले शरीर र व्यवहारमा खेल्ने भूमिका अझ स्पष्ट रूपमा बुझ्न सकेका छन् ।
नोबेल समितिका अनुसार, प्रकाशको प्रयोग गरेर अब मस्तिष्कका निश्चित स्नायु सञ्जाललाई सक्रिय वा निष्क्रिय पार्न सकिन्छ । यसबाट वैज्ञानिकहरूले स्मृतिलाई सक्रिय पार्न, भावना उत्पन्न गर्न, व्यवहारमा प्रभाव पार्न तथा विभिन्न स्नायु र मानसिक रोगमा संलग्न स्नायु कोष पहिचान गर्न सकिरहेका छन् ।
यस अनुसन्धानले मस्तिष्क र शरीरका अन्य अंगहरू, जस्तै मुटु तथा आन्द्राबीच हुने जटिल अन्तरक्रिया बुझ्न पनि महत्वपूर्ण जानकारी दिएको छ ।
दृष्टि फर्काउने आशा
अप्टोजेनेटिक्सलाई चिकित्सा उपचारमा प्रयोग गर्ने दिशामा पनि वैज्ञानिकहरूले महत्वपूर्ण प्रारम्भिक सफलता हासिल गरेका छन् ।
रेटिनाइटिस पिग्मेन्टोसा नामक रोगका कारण दृष्टि गुमाएका मानिसमा दृष्टि पुनर्स्थापित गर्ने उद्देश्यले यसको क्लिनिकल परीक्षण भइरहेको छ । यो रोगले आँखामा प्रकाश पहिचान गर्ने रड तथा कोन नामक कोषहरू नष्ट गर्छ ।
वैज्ञानिकहरूले आँखाको क्षतिग्रस्त भागमा विशेष प्रकाश-संवेदनशील प्रोटिन पुर्याउने प्रयास गरेका छन् । त्यसपछि विशेष प्रकारको प्रकाश उत्सर्जन गर्ने चस्मा लगाउँदा ती प्रोटिन सक्रिय हुन्छन् ।
प्रारम्भिक परीक्षणमा केही बिरामीले यस प्रविधिको सहायताबाट केही हदसम्म दृष्टि प्राप्त गर्न सफल भएका छन् ।
वैज्ञानिकहरूका लागि यो प्रविधि अझै विकासकै क्रममा भए पनि, यसले भविष्यमा दृष्टि गुमाएका मानिसको उपचारसँगै विभिन्न स्नायु तथा मानसिक रोगको उपचारमा समेत नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
मस्तिष्कका स्नायु सञ्जाललाई प्रकाशमार्फत नियन्त्रण गर्न सकिने यो प्रविधिले मानव मस्तिष्क कसरी काम गर्छ भन्ने बुझ्ने प्रयासमा विज्ञानलाई एउटा नयाँ युगतर्फ अघि बढाएको छ ।
BBC बाट भावानुवाद