वीरेन्द्रनगर—कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि जनशक्तिको सहज आपूर्ति, उपकरणहरूको सहज उपलब्धता र औषधिको वितरण महत्वपूर्ण भएको बताएका छन् । बिहीबारबाट कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा गोष्ठी तथा कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कर्णालीमा आएको जनशक्ति नटिक्ने र प्रदेशका पाँच वटा हिमाली जिल्लामा सरकारी कर्मचारीहरू जान नचाहने समस्याका कारण ग्रामीण क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा सहज ढंगले पाउन नसकेको मुख्यमन्त्री शाहीले बताए । त्यसका लागि प्रदेश सरकारले सेवा प्रक्रियालाई नियमसंगत बनाउने र विधिमा संचालन हुने गरी कर्मचारीहरूको परिचालन गरिने उनले बताए ।
मानव विकास सूचकहरूमा सबैभन्दा पछाडि रहेको कर्णालीको स्वास्थ्य सेवालाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउन तीनवटै तहका सरकारहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको शाहीले बताए । स्थानीय तहसँग आवश्यक समन्वय गरेर काम गर्न र नागरिकलाई दिने स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए ।
कर्णाली प्रदेशमा आवश्यक जनशक्तिको चरम अभाव, उपकरण र भौतिक संरचनाहरूको अभावका बीच पनि स्वास्थ्यकर्मीहरूले राम्रो काम गरिरहेको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले बताए । सीमित स्रोत—साधनका बाबजुद स्वास्थ्य सूचकहरूमा सुधार हुँदै गएको उनको भनाइ छ ।
कर्मचारीहरूको ओएनएमलगायतका कतिपय कामहरू अन्तिम चरणमा रहेको कर्णाली प्रदेशका प्रमुख सचिव राधिका अर्यालले बताइन् । उनले सबै मन्त्रालय तथा मातहतका कार्यालयहरूलाई आवश्यक सहयोग गरेर, आवश्यकताको आधारमा कर्मचारी विवरण टुंग्याउन सहयोग गर्न आग्रह गरिन् ।