जुम्ला—हुम्लामा २० वर्षभन्दा कम उमेरमा गर्भवती तथा सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको छ । बालविवाह न्यूनीकरणका लागि कानुनी व्यवस्था, जनचेतनामूलक अभियान तथा विभिन्न कार्यक्रम सञ्चालन भइरहेपनि अपेक्षित प्रभाव पर्न नसक्दा कम उमेरमै सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको हो ।
चालु आर्थिक वर्षमा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका महिलामध्ये २२ प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरका किशोरी रहेको स्वास्थ्य सेवा कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख डा. भीम बुढाले बताए ।
स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको विवरणअनुसार जिल्लामा कुल ७ सय ७३ जना सुत्केरी भएकामध्ये १ सय ७५ जना २० वर्षभन्दा कम उमेरका छन् । यो कुल सुत्केरीको २२ दशमलव ६३ प्रतिशत हो । ०८२ मङ्सिरसम्म २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने किशोरीको दर २० प्रतिशत रहेको थियो । तथ्याङ्कअनुसार जिल्लाका अधिकांश स्थानीय तहमा कम उमेरमा सुत्केरी हुने किशोरीको संख्या बढ्दै गएको छ ।
गाउँपालिकागत विवरणअनुसार चंखेली गाउँपालिकामा ७५ जना सुत्केरी भएकामध्ये २६ जना, खार्पुनाथमा १ सय ४ जनामध्ये १९ जना, सिमकोटमा २ सय १७ जनामध्ये ५८ जना, सर्केगार्डमा १ सय ३५ जनामध्ये १४ जना, अदानचुलीमा १ सय २९ जनामध्ये ४० जना र ताँजाकोटमा ९६ जनामध्ये १८ जना २० वर्षभन्दा कम उमेरका रहेका छन् ।
त्यस्तै, जिल्ला अस्पतालमा सुत्केरी भएका १ सय ३६ जनामध्ये २८ जना २० वर्षभन्दा कम उमेरका रहेको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्क छ । उक्त तथ्याङ्कले हुम्लामा बालविवाह अझै चुनौतीका रूपमा रहेको देखाएको छ ।
स्वास्थ्य सेवा कार्यालयका चिकित्सक बुढाका अनुसार पछिल्लो समय भागी विवाहको प्रवृत्ति बढ्दै जाँदा बालविवाहका घटना पनि बढिरहेका छन् । बालविवाहका कारण किशोरीहरू सानै उमेरमा आमा बन्नुपर्ने अवस्था सिर्जना हुने र यसले आमा तथा शिशु दुवैको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने उनले बताए ।
बालविवाह न्यूनीकरणका लागि वकालत गर्दै आएका संस्थाहरूले कानुनी व्यवस्था मात्रै पर्याप्त नभएको र विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले भौगोलिक विकटता, अन्धविश्वास, कानुनी चेतनाको अभाव, गरिबी तथा सामाजिक सञ्जालको दुरुपयोगलगायतका कारण बालविवाह अझै कायम रहेको बताइन् ।