२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य विमा नवीकरण नहुँदा हुम्लाका नागरिक विमा सेवाबाट वञ्चित

स्वास्थ्य विमा नवीकरण नहुँदा हुम्लाका नागरिक विमा सेवाबाट वञ्चित


जुम्ला—हुम्लामा समयमा स्वास्थ्य विमा नवीकरण नहुँदा स्थानीय नागरिक स्वास्थ्य बिमाबाट वञ्चित भएका छन् । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य विमाले निकै राहत गर्ने भएतापनि हुम्लाको दुर्गम क्षेत्रमा यसको प्रभाव नपरेको पाइएको छ ।

स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि भरिएका फारमहरु अहिलेसम्म पनि नवीकरण नगरिएको अदानचुली गाउँपालिका–२ का लालपरु सुनारले गुनासो व्यक्त गरे । ‘मैले स्वास्थ्य विमा कार्यक्रम लागु भएपछि फारम भरेको थिएँ । परिचयपत्र पनि पाएँ,’ उनले भने, ‘अहिले फारम भरेको धेरै वर्ष भयो । तर, नवीकरण गर्न कोही पनि आएनन्, के कसरी नवीकरण गर्ने हो थाहा पनि भएन ।’

लालपरु स्वास्थ्य विमा गरेको एक वर्षपछि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार गर्न गए । त्यहाँ स्वास्थ्य विमाको परिचयपत्र देखाए । तर, नवीकरण नभएको भन्दै उनले स्वास्थ्य विमा सुविधा पाएनन् । ‘वडाका जनप्रतिनिधिले स्वास्थ्य विमा गरेपछि नवीकरण कहिले गर्ने भनेर जानकारी नै नगराएपछि यस्तो समस्या आएको हो,’ उनले थपे ।

लालपरु त एक प्रतिनिधि उदाहरण मात्रै हुन् । यो समस्या हुम्लाका हरेक ठाउँमा देखिन्छ । गाउँका नागरिकहरुले प्रति घरधुरी ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य विमा गरेका छन् । तर, कसैले पनि विमामार्फत पाइने स्वास्थ्य सेवाको लाभ लिन पाएका छैनन् ।

अदानचुली गाउँपालिका–३ की विमा दर्ता सहयोगी प्रतिभा फडेराले आफूले चार दिन तालिम दिएको बताइन् । ‘एउटा मोबाइल पनि उपलब्ध गराइयो । त्यसपछि स्वास्थ्य विमा कार्यक्रम नै जिल्लामा सुनसान हुँदा हामीले पनि नयाँ भर्ने र नवीकरणको काम गर्न सकेका छैनौं,’ उनले भनिन् ।

स्वास्थ्य विमा कार्यालय जिल्ला संयोजक गोविन्दराज ओझाकाअनुसार पछिल्लो समय हुम्लामा स्वास्थ्य विमा सहजकर्ताले काम नगर्दा परिवर्तन गर्नु परेकाले पनि नवीकरण हुन नसकेको बताए । स्वास्थ्य विमा नवीकरणलाई निरन्तरता दिनका लागि विमा दर्ता सहयोगीहरूको आवश्यकता रहेको उनले बताए । ‘गाउँपालिकाका दर्ता सहयोगीले काम गर्न सकेनन्,’ उनले भने, ‘त्यसकारण हामीले दर्ता सहयोगी छनौट गरेर पठाउन पटक—पटक पत्र पठाउँदा पनि स्थानीय तहले छनौट गरी नपठाउँदा समस्या भएको छ ।’

अदानचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हंस महताराले स्वास्थ्य विमा कार्यालयले पत्र पठाएको स्वीकार गर्दै आफूले सबै वडा अध्यक्षलाई जानकारी गराइसकेको बताए । ‘वडा नम्बर ३ र ४ ले दर्ता सहयोगी पठाएर काम सुरु भैसकेको छ,’ उनले भने, ‘र अरु वडाले पनि अब केही दिनमा पठाउँछन् ।’

स्वास्थ्य विमा नागरिकको लागि अपरिहार्य छ । तर, गाउँमा स्वास्थ्य विमा गराउने दर्ता सहयोगी छैनन् । दर्ता गरिएकाहरुको स्वास्थ्य विमा पनि नवीकरण नगर्दा सेवा लिनबाट स्थानीय नागरिकहरू वञ्चित भएका छन् । यसका लागि तत्काल दर्ता सहयोगी छनौट गरी सेवा सुचारु गर्न जरुरी रहेको स्थानीय माग छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ