२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरुकुम पूर्वकी २८ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार

रुकुम पूर्वकी २८ वर्षीया सुत्केरीको हेलिकप्टरबाट उद्धार


वीरेन्द्रनगर—रुकुम पूर्वकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । मंगलबार रुकुम पूर्व सिस्ने गाउँपालिका– ६ की २८ वर्षीया सरस्वती डाँगी विष्टको हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत ल्याइएको हो ।

सुत्केरी हुन सोमबार रुकुम पूर्व अस्पतालमा आएकी विष्ट अप्रेसन गरेर बच्चा निकालिएको थियो । बच्चा निकालिसकेपछि पनि सालनाल नझरेपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको रुकुम पूर्व अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्रराज कोइरालाले जानकारी दिए ।

‘उहाँ (विष्ट) सुत्केरी हुनको लागि हिजो अस्पतालमा भर्ना हुनुभएको थियो,’ उनले भने, ‘सुत्केरी व्यथा अघि बढ्न नसकेपछि उहाँलाई व्यथा लाग्ने औषाधी खुवाएका थियौं ।’

औषधि खुवाउँदा पनि उनको पाठेघर ३ घरभन्दा धेरै नखुलेपछि अप्रेसन गरेर बच्चा निकालेको डा. कोइरालाले बताए । बच्चा स्वस्थ जन्मिएको अस्पतालले जनाएको छ । तर, सुत्केरीको सालनाल नझरेको र रक्तस्राव पनि धेरै भएपछि उनलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।

उनको सालनाल पाठेघरलाई छेडेर जोडिएको अवस्थामा रहेको र यस्तो अवस्थामा पाठेघर नै निकाल्नुपर्ने भएको कारण रुकुम पूर्व अस्पतालमा यसका लागि आवश्यक स्रोत साधन नहुँदा रिफर गर्नुपरेको अस्पतालका नि. मेसु डा. कोइरालाले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ