२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीको स्वास्थ्यमा सुधारका संकेत देखिदैं

कर्णालीको स्वास्थ्यमा सुधारका संकेत देखिदैं

यस्ता छन् कर्णालीका स्वास्थ्य सूचकहरु


वीरेन्द्रनगर—कर्णाली प्रदेश सरकारले कर्णालीको प्रमुख स्वास्थ्य सूचक सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले अर्थ वार्षिक समीक्षामार्फत प्रमुख स्वास्थ्य सूचकहरु सार्वजनिक गरेको हो ।

सुरक्षित सुत्केरी, बालमृत्यु दर, अस्थायी साधन प्रयोगको अवस्थादेखि पोषणको अवस्था तीन आर्थिक वर्षको तथ्यांक सार्वजनिक भएको हो ।

भौगोलिक रुपमा विकट तथा सबै ठाउँमा यातायातको पहुँच नभएको कर्णालीमा अधिकांश सूचक सुधार भएको पाइएको छ । संस्थागत सुत्केरी हुने दरमा समेत भारी मात्रामा सुधार आएको छ । कर्णालीमा सबै खालका खोप पूर्णरुपमा प्राप्त गर्ने बालबालिकाको संख्या २०७८/०७९ मा ८८.६ प्रतिशत रहेको थियो भने २०७९/०८० मा ८३ प्रतिशत रहेको छ । २०८० पुस मसान्तसम्म ८२ प्रतिशतले खोप प्रयोग गरिरहेको पाइएको छ ।

त्यस्तै, कम तौल भएका दुई वर्षमुनिका बालबालिकाको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ४.१ रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा ३.६ रहेको विवरण सार्वजनिक गरिएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म २.७ प्रतिशत बालबालिका कम तौल भएको पाइएको छ ।

नवजात मृत्यु संख्या आर्थिक वर्ष २०७८/०७९ मा दुई जना रहेको थियो । आर्थिक वर्ष २०७९/०८० मा शून्यमा झरेको तथ्यांकमा देखाएको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म ६ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घबहादुर पोखरेलले बताए ।

पाँच वर्षमुनिको मृत्यु संख्या २०७८/०७९ मा १० जना, आर्थिक वर्ष २०७९/०८० मा आठजना र २०८०/०८१ मा पुस मसान्तसम्म जम्मा १० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा मातृमृत्यु संख्या १७ जना रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १६ जना रहेको छ । २०८० पुससम्म ६ जना आमाको मृत्यु भएको तथ्यांक रहेको सामाजिक विकास मन्त्रालयका सचिव पोखरेलले बताए ।

परिवार नियोजन साधन प्रयोगदर २०७८/०७९ मा १८.७ प्रतिशत, आर्थिक वर्ष २०७९/०८० मा १६.१ र २०८० पुस मसान्तसम्म १६.१ प्रतिशत रहेको पाइएको छ । चार पटकसम्म नियमित गर्भ जाँच गराउने गर्भवतीको संख्या आर्थिक वर्ष २०७८/०७९ मा ७२.३ रहेको थियो भने आर्थिक वर्ष २०७९/०८० मा आएर बढेर ९८.३ प्रतिशत पुगेको छ । आथिक वर्ष २०८०/०८१ को पुस मसान्तसम्म ८५ प्रतिशत पुगेको छ । आठ पटकसम्म गर्भ जाँच गराउने गर्भवतीको संख्या आर्थिक वर्ष २०७८/०७९ मा शून्य रहेको छ ।

त्यस्तै आव २०७९/०८० मा ३४.६ प्रतिशत रहेको छ । २०८०/०८१ मा पुस मसान्तसम्म ३१.४ प्रतिशत रहेको छ । सुत्केरी पश्चात प्रोटोकलअनुसार तीनपटक जाँच गराउने आमाको आव २०७८/०७९ मा ५२.६ प्रतिशत रहेको छ । त्यस्तै आव २०७९/०८० मा ५७.३ प्रतिशत र आव २०८०/०८१ को पुस मसान्तसम्म ६८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थामा आएर संस्थागत सुत्केरी हुनेको संख्यासमेत बढ्दो छ । आव २०७८/०७९ मा ६९.८ प्रतिशत रहेकोमा आव २०७९/०८० मा बढेर ८३.६ प्रतिशत रहेको छ । २०८०/०८१ को पुस मसान्तसम्म ८३ प्रतिशतमात्र रहेको पाइएको छ । दक्ष प्रसूतिकर्मीबाट सुत्केरी हुनेको संख्या आव २०७८/०७९ मा ७०.१, आव २०७९/०८० मा ७४.५ र आव २०८०/०८१ को पुस मसान्तसम्म ५३.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा जम्मा क्षयरोग बिरामीको संख्या आव २०७८/०७९ मा एक हजार ६५२, आव २०७९/०८० मा एक हजार ५७२ र आव २०८०/०८१ को पुस मसान्तसम्म ६८५ जना रहेको पाइएको छ । नयाँ कुष्ठरोग बिरामीको संख्या आव २०७८/०७९ मा ६८, आव २०७९/०८० मा ७३ र आव २०८०/०८१ को पुस मसान्तसम्म २८ जना रहेको पाइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ