२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशएक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन्

एक महिना बितिसक्दा पनि सुर्खेत अस्पतालमा खटाइएका दुई विशेषज्ञ चिकित्सक गएनन्


वीरेन्द्रनगर —स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाएका विषेशज्ञ डाक्टर झण्डै एक महिना बितिसक्दा पनि हाजिर भएका छैनन् । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा खटाइएका कार्डियोलोजिस्ट डा. सुतप यादव र न्युरोलोजिस्ट डा. ओमविक्रम शाह मन्त्रालयले पठाएको १७ भदौंमा प्रदेश अस्पतालमा हाजिर भइसक्नुपर्ने हो ।

तर, अहिलेसम्म पनि उनीहरु दुवै जना हाजिर भएका छैनन् । गत १७ भदौंमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले न्युरोलोजिस्ट डा. ओमविक्रम शाह, डा. प्रभात झा, डा. सुतप यादव र डा. चित्रराज शर्मालाई कामकाजका लागि प्रदेश अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल र नारायणी अस्पताल पर्सामा खटाएको थियो ।

जसमध्ये पहिलो चरणको ६ महिना डा. प्रभात र डा. चित्रराज प्रदेश अस्पताल सुर्खेतमा हाजिर भएर रमाना लिएर गइसकेका छन् । अहिले डा. प्रभात नारायणी अस्पताल पर्सामा छन् भने डा. चित्रराज सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत छन् ।

त्यस्तै, पहिलो चरणको ६ महिना नारायणी अस्पताल पर्सामा हाजिर भएका डा. ओमविक्रम र डा. सुतप दोस्रो चरणमा सुर्खेत आउनुपर्ने हो । तर, अहिलेसम्म पनि उनीहरु प्रदेश अस्पताल सुर्खेतमा हाजिर नभएका हुन् । उनीहरू नआउँदा सेवा प्रभावित भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले समेत यो विषयमा फोन गरेर समन्वय गर्दा पनि ती डाक्टरहरू कर्णाली आउन नचाहेको बताइन्छ । निर्देशक डा. खड्कासहितको टोलीले काठमाडौं पुगेर मन्त्रीलाई समेत यो समस्याबारे जानकारी गराएको थियो । तर, यो विषय सुनुवाई भएको छैन ।

मन्त्रालयको छात्रवृत्ति करारका विशेषज्ञ चिकित्सक परिचालन गर्ने महाशाखा नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले डा. ओमविक्रम र डा. सुतपले ६ महिनापछि सुर्खेत प्रादेशिक अस्पताल जाने शर्तमा गत भदौंमा नारायणी अस्पताल पोष्टिङ गर्न मन्जुरीनामा गरेका थिए ।

अस्पतालका सूचना अधिकारी विनोद बस्नेतका अनुसार अस्पतालको कमजोरीका कारण नभई स्वयं आउने डाक्टरहरूको कर्णालीलाई हेर्ने नजर फरक रहेका कारण समस्या भएको हो । आकर्षक सेवा सुविधा र व्यक्तिगत सहजता खोज्ने प्रवृत्तिले पनि प्रायः डाक्टरहरू कर्णालीमा आउन मान्दैनन् । पछिल्लो समय भौतिक संरचना निर्माणमा ठूलो उपलब्धि हासिल गरेपनि प्रदेश अस्पताल डाक्टरहरूको रोजाइमा भने पर्न सकेको छैन । यसको उदाहरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर नहुनु हो ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ