२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोट नलगाडका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाएनन्

जाजरकोट नलगाडका स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाएनन्


जुम्ला—जाजरकोटको नलगाड नगरपालिका मातहतका १८ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले तलब भत्ता पाएका छैनन् । नलगाड नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भगवती बोहराका अनुसार करारका स्वास्थ्यकर्मीले ६ महिनादेखि र दरबन्दीमा रहेका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएका छैनन् ।

स्वास्थ्यकर्मीहरूलाई मासिक तलब भत्ता उपलब्ध गराउन पटक–पटक माग गरेपनि नलगाड नगरपालिकाले सुनुवाई नगरेको स्वास्थ्यकर्मी भुपेन्द्र गिरीले बताए । नलगाड नगरपालिकाले १९ चैतमा आयोजना गरेको अर्ध वार्षिक समीक्षा कार्यक्रममा नगर प्रमुख डम्बरबहादुर रावत र प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराईले स्वास्थ्यकर्मीहरूको मागको विषयमा सम्बोधन नगरेको गिरीले आरोप लगाएका छन् ।

तलब नपाउँदा दैनिक उपभोगका सामग्री खरिद गर्न, घर खर्च चलाउनलगायतका समस्या व्यहोर्नु परेको स्वास्थ्यकर्मी राधिका पुनले गुनासो गरिन् । ‘धेरै पटक तलब माग गरेपनि सुनुवाई भएको छैन्,’ उनले भनिन् ।

स्वास्थ्यकर्मीले ६ महिनादेखि मासिक तलब भत्ता नपाउँदा मर्कामा परेका छन् । महिनाभर काम गरेर पारिश्रमिक नपाएपछि आर्थिक समस्यामा परेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले आफु खुसी काम गर्न थालेपछि समस्या आएको नगर प्रमुख रावतको सचिवालयले जानकारी दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख बीचको बेमेलले आर्थिक वर्ष सुरु भएको नौ महिना बित्दा समेत नलगाड नगरपालिकाको विकास बजेट २० प्रतिशत पनि खर्च भएको छैन । प्रमुख प्रशासकीय अधिकृत भटराई र कर्मचारीको तालमेल नमिलेपछि बजेट खर्च लगायतका सेवा प्रवाहमा असर परेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ