२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश१२ करोड लागतमा जुम्लाको बोहरा गाउँमा १५ शैय्याको आयुर्वेद अस्पताल बन्दैं

१२ करोड लागतमा जुम्लाको बोहरा गाउँमा १५ शैय्याको आयुर्वेद अस्पताल बन्दैं


जुम्ला—जुम्लाको चन्दननाथ नगरपालिका–१० बोहोरा गाउँस्थित आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गत रहेको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि १५ शैय्याको अस्पताल बन्ने पक्का भएको हो ।

आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नती गर्नलाई संघीय सरकारले बजेट छुट्याएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए । ‘परम्परागत तर भरपर्दो उपचार पद्धति आयुर्वेदको विकास गर्न सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य विभागले कदम चालेको हो,’ उनले भने, ‘सबै डकुमेन्ट जुटाइ सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले ठेक्का आव्हान गरी काम अगाडी बढाएको हो ।

बहुवर्षीय आयोजनाअन्तर्गत बन्ने १५ शैय्याको आयुर्वेद अस्पताल बनाउन नयाँ आर्थिक वर्षको लागि ३ करोड विनियोजन भएको थियोे । तर, स्रोत सुनिश्चितता नहुँदा ठेक्का खोल्न सकिएको थिएन । पछिल्लो समय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखासँगको निरन्तर समन्वयपछि ठेक्का खोल्न सकिएको सघन सहरी तथा भवन निर्माण आयोजनाका सब-इन्जिनियर चन्द्र खड्काले बताए ।

‘वि.सं. ०८० फागुन ३ गते माननीय मन्त्रीस्तरको निर्णयबाट आयोजनाको वहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्ड (प्रथम संशोधन), २०८० को दफा ६ (१) बमोजिम सुरु विनियोजनसमेत गरी १२ करोड रुपैयाँको स्रोत सहमति प्रदान भएको छ,’ उनले भने ।

सब-इन्जिनियर खड्काका अनुसार वहुवर्षीय ठेक्काको स्रोत सहमतिको अवधि बढीमा तीन वर्षको हुनेछ भने स्रोत सहमति प्राप्त भएको आयोजनाको आर्थिक वर्ष २०८०÷८१ को हकमा चैत्र मसान्तसम्म खरिद प्रक्रिया सुरु गरिसक्नुपर्ने प्रावधान अनुसार काम अगाडि बढेको छ ।

घर आगनमै अस्पताल बन्न लागेपछि स्थानीय गाउँलेहरु खुसी भएको चन्दननाथ–१० बोहोरा गाउँकी कमला सार्कीले बताइन् । ‘घर आगनमा अस्पताल बन्न लाग्दा गाउँले सबै खुसी छौं । घर नजिकै सस्तोमा उपचार पाइने भएको छ,’ उनले भनिन्, ‘कयौं रोगहरुको परम्परागत उपचार पद्धतिबाट स्वास्थ्य लाभ लिन सकिने हुँदा हामी अत्यन्तै खुसी छौं ।’

नगरपालिकाको विकट क्षेत्र मानिने वडा नम्बर १० स्थित बोहरा गाउँमा ठूला सरकारी संरचना नभएको कुरालाई मनन गरेर संघीय सरकारले बजेटमा १५ शैय्याको अस्पताल बनाउन लागेको चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काले बताइन् । ‘एलोपेथिक पद्धतिबाट छिटो छरितो स्वास्थ्य लाभ लिन सकिने भएपनि कयौं रोगहरुको निदान आयुर्वेदिक पद्धतिबाट गर्न सकिने रहेछ,’ उनले भनिन्, ‘यस्तो पद्धतिबाट उपचार हुने अस्पताल बन्नु साह्रै खुसीको कुरा हो ।’

दैनिक सयौं जनाले निःशुल्क उपचार पाइरहेको आयुर्वेद केन्द्र स्तरोन्नती भएर अस्पताल बन्ने भएपछि निकै खुसी लागेको स्वास्थ्य केन्द्रका प्रमुख नन्दप्रसाद न्यौपानेले बताए । ‘जल, जमिन र जंगलको उपयोग गरी स्थानीयस्तरमै औषधि बनाएर उपचार गरिने आयुर्वेद केन्द्र अब अस्पताल हुने भएको छ,’ उनले भने, ‘यो हाम्रो निम्ति ठूलो उपलब्धि हो । अब गरिब जनताले अत्यन्तै सस्तोमा घर आगनमै उपचार पाउनेछन् ।’

हाल आयुर्वेद स्वास्थ्य केन्द्रले निःशुल्क रुपमा ओपीडी र ल्याब सेवा दिदै आएको छ । निकट भविष्यमै सर्जरी सेवासमेत दिने तयारी गरिरहेको आयुर्वेदमा दिसा, पिसाब, रगत, खकार जाँचको सेवा उपलब्ध छ । हाल आयुर्वेद स्वास्थ्य केन्द्रमा दुई जना चिकित्सकले दैनिक रुपमा सेवा दिइरहेका छन् भने योग ध्यान शिविर संचालन गरेर नागरिकलाई सेवा दिने काम भइरहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ