२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसेवा सुविधा माग्दैं जुम्लाका स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित

सेवा सुविधा माग्दैं जुम्लाका स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित


जुम्ला—जुम्लाका ६० जना स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका छन् । आइतबार सेवासुविधाको माग गर्दै स्वास्थ्य बीमा दर्ता सहयोगी आन्दोलित भएका हुन् ।

वि.सं. २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपनि जुम्लामा वि.सं. २०७४ सालदेखि सुरु भएको हो । सुरुवातदेखि नै काम गर्दै आएका स्वास्थ्य बीमा दर्ता सहयोगीले समयमा सेवा, सुविधा नपाएको गुनासो गरेका हुन् ।

उनीहरुले पाउने प्रतिशतभन्दा तलब भर्ताको व्यवस्थापन गर्नुपर्ने र दर्ता सहयोगीलाई पदस्थापनाका लागि स्थानीय तहलाई पत्राचार गर्नुपर्ने माग गरेका छन् ।

दर्ता सहयोगीले कर्तव्य पालनको सिलसिलामा आइपर्ने जोखिम न्यूनीकरण र व्यवस्थापनमा सुरक्षाको लागि स्वास्थ्य र जीवन बीमाको अनिवार्य राज्यबाट व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ ।

सञ्चय कोषको व्यवस्था, सेवाबाट बाहिरिदा सेवा अवधिअनुसार प्रचलित नियमअनुसार उपदानको व्यवस्था गर्नुपर्ने माग रहेको स्वास्थ्य बीमा दर्ता सहयोगी धनबहादुर रावतले बताए । ‘कर्मचारी भर्ना गर्दा योग्यता र क्षमताका आधारमा आन्तरिक प्रतिस्पर्धामा उमेरको हद लगाउनु हुँदैन्,’ उनले भने ।

असारमा बीमा नवीकरण गर्नुपर्ने समय हो । तर, बीमा दर्ता सहयोगी सबै आन्दोलित भएपछि काम प्रभावित भएको छ । बीमा बोर्डले प्रति बीमाको १० प्रतिशत बोनसबाहेक अन्य कुनै सेवा सुविधा नदिएको र बोनस पनि समयमा उपलब्ध नभएको दर्ता सहयोगी सरिता रोकायाले बताइन् । ‘बीमा बोर्डले देशभरका सबै दर्ता सहयोगीका लागि एउटै नियम लागु गरेपनि दुर्गमका लागि थप सेवा सुविधा दिन आवश्यक छ,’ उनले भनिन् ।

स्वास्थ्य बीमा बोर्ड जुम्ला शाखा प्रमुख प्रेम भण्डारीका अनुसार स्वास्थ्य बीमा दर्ता सहयोगी देशभर आन्दोलित छन् । ‘जुम्लाको हकमा काम प्रभावित हुने गरी अहिले आन्दोलन भएको छैन,’ उनले भने, ‘बीमा बोर्ड केन्द्र दर्ता सहयोगीको मागप्रति सकारात्मक रहेको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ