२०८१ भदौ २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्लामा धामी झाँक्रीको भरपर्दा एक जनाको मृत्यु

हुम्लामा धामी झाँक्रीको भरपर्दा एक जनाको मृत्यु


जुम्ला—हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानी गाउँकी ३५ वर्षीया धनशोभा कामीको मृत्यु भएको छ । गाउँका धामी झाँक्रीकै भरमा औषधि उपचार नगरेपछि कामीको मृत्यु भएको हो ।

औषधि उपचार नगरी धामी झाँक्रीको भर पर्दा श्रीमतीको ज्यान गएको मृतकका श्रीमान दल कामीले बताए । पुरानो संस्कारअनुसार धामी झाँक्रीलाई देखाए सन्चो भइहाल्छ भन्ने मान्यताले पत्नी गुमाउनु परेको कामीले दुःख व्यक्त गरे ।

‘आमाको मृत्युसँगै चार जना बालबालिकाको समेत बिचल्ली भएको छ,’ उनले भने । एक सातादेखि उच्च रक्तस्रावले थला परेकी कामीको उपचार नपाएरै मृत्यु भएको हो ।

रक्तस्रावले थलिएकी धनशोभालाई सात/आठ गाउँका धामी झाँक्री राखेर झारफुक गराउँदा निको नभएपछि उपचारका लागि स्वास्थ्य केन्द्र लैजाने क्रममा मृत्यु भएको पति कामीको भनाइ छ । सर्केगाड गाउँपालिका–३ को गुसा लेखबाट सर्केगाड गाउँपालिका केन्द्र उपचारका लागि लैजाने क्रममा जोगीधार भन्ने ठाउँमा उनको मृत्यु भएको थियो ।

श्रीमतीको मृत्युपछि कामी साना चार जना छोराछोरी कसरी पाल्ने भन्ने चिन्तामा परेका छन् । कामीका दुई छोरा, दुई छोरी छन् ।

आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले बालबालिकालाई साँझ, बिहानको छाक जुटाउन समेत मुस्किल भएको सर्केगाड गाउँपालिका–३ का स्थानीय जनक फडेराले बताए । ‘बालबच्चाको पढाइ लेखाइ त परको कुरा भयो । श्रीमति हुँदा कहिलेकाहीँ मजदुरी गर्न जिल्ला बाहिर जान्थे । अब बालबालिका कता छोडौं के गरौं भन्ने पिरलो थपिएको छ’, उनले भने ।

उनले बिरामी श्रीमतीलाई उपचार गराउन जिल्ला बाहिर लैजान रकम नभएपछि धामी झाँक्री गुहार्नु परेको बताए । ‘गरिब भएर जन्मिनु पीडा भयो । रुपैयाँ नहुँदा श्रीमती जोगाउन सकिएन । चार जना बालबालिकालाई साँझ बिहानको छाक टार्नै मुस्किल भयो,’ उनले भने । यस्तो समस्या हुने जानकारी भएको भए पहिले नै उपचारका लागि गुहार मागेर समेत खर्च जुटाउन प्रयास गर्ने उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ