वीरेन्द्रनगर—कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सुचकहरुमा सुधार आउन नसकेको बताएका छन् । बुधबार सुर्खेतलाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गर्न आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘बदलिएको व्यवस्था पश्चात् स्वास्थ्य जनशक्ति बढेपनि स्वास्थ्य सूचकहरूमा सुधार आउन सकेको छैन्,’ उनले भने, ‘सुर्खेतमा बढ्दो बसाइसराइका कारण वीरेन्द्रनगरजस्ता स्थानीय तहहरूमा चुनौती थपिएकोले स्वास्थ्यकर्मीहरूको सक्रियता र जिम्मेवारीपन आवश्यक छ ।’ उनले सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रियताले रोगहरूको निदानका लागि सहज भएको बताए ।
मन्त्री भण्डारीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा हुन सकेकोप्रति बधाई ज्ञापन गर्दै यसको निरन्तरताको आशा व्यक्त गरे ।
प्रदेश खोप समिति संयोजक एवं सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले रोग निराकरणका लागि खोपले टेवा पुग्ने बताए ।
उनले कर्णाली प्रदेशका ७ जिल्ला घोषणा गरिएको जानकारी दिदैं अभियानलाई निरन्तरता दिन आग्रह गरे । स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको मनोबल उच्च राख्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता जनाए ।
विकटताको कारण खोप कार्यक्रममा अझै चुनौतीपूर्ण रहेको जिल्ला खोप समन्वय अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख गङ्गाराम सुनारले बताए।
सुर्खेतमा वि.सं. २०३५ सालदेखि खोप कार्यक्रम सुरु भएको थियो । वि.सं. २०७५ मा सुर्खेत जिल्ला पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।