२०८२ साउन ७, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव

अस्पताल पुगेका सेवाग्राही रित्तो हात फर्किन बाध्य छन्


जुम्ला—हुम्ला जिल्ला अस्पतालमा बजेटको व्यवस्था नहुँदा औषधिको अभाव भएको छ । औषधि अभाव भएसँगै जिल्ला अस्पतालमा आउने सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।

गत जेठदेखि जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएको स्थानीय धनदेवी सिराले गुनासो गरिन् । उनका अनुसार आफ्नो दुई वर्षीय छोरालाई ज्वरो आएको भन्दै जिल्ला अस्पतालमा जाँदा सामान्य सिटामोल समेत नपाएर फर्कनु प¥यो ।

नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदैं आएको पनि औषधि हुम्ला जिल्ला अस्पतालमा नभएको उनले बताइन् । सामान्य बिरामी स्थानीय सरकारका स्वास्थ्य शाखामै उपचार गरेपनि जटिल खालका बिरामी जिल्ला अस्पताल हुम्लामा जाने गरेका छन् । अस्पतालमा औषधि नपाउँदा रित्तै हात घर फर्कनुपर्ने बाध्यता रहेको छ ।

जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, व्यापारी, उद्योगी, सिमकोट गाउँपालिका बाहेकका अन्य गाउँपालिकाका मानिसहरूको पनि बसोबास हुने भएकाले उनीहरु सिधै जिल्ला अस्पताल उपचार गर्न जाने गरेका छन् । उपचारका लागि जिल्ला अस्पतालमा सामान्य सिटामोल, जीवन जल, जुकाको औषधिसमेत नपाउँदा बाहिरका औषधि पसलमा किन्नुपर्ने बाध्यता रहेको सेवाग्राहीले गुनासो गरेका छन् ।

जिल्ला अस्पताल हुम्लामा औषधि व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारलाई पटक—पटक माग पत्रसँगै सम्बन्धित व्यक्तिलाई औषधिका लागि बजेटको व्यवस्था गरिदिन अनुरोध गरेपनि संघ सरकारले प्रदेश सरकारलाई जिम्मा दिएको र प्रदेशले स्थानीय सरकारलाई जिम्मा दिएको भन्दै झारो टार्ने काम गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक भण्डारीको भनाइ छ ।

स्थानीय सरकारलाई भन्दा आफ्नो पालिकामै स्वास्थ्य शाखा भएकोले उक्त शाखामै औषधिको व्यवस्था गर्ने गरेकोले जिल्ला अस्पताललाई कुनै बजेटको व्यवस्था गर्न नसकिने प्रतिक्रिया दिएको अध्यक्ष भण्डारीले बताए ।

आर्थिक वर्ष २०८१/०८२ मा संघ सरकारबाट १० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएपनि त्यो रकमले तीन महिनाभन्दा बढी नधान्ने स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख उमाकान्त तिवारीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ