२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारग्राण्डीमा फेरि विवाद : डा. रुपज्योतिले अदालत गुहारेपछि सबै बैंक खाता रोक्का

ग्राण्डीमा फेरि विवाद : डा. रुपज्योतिले अदालत गुहारेपछि सबै बैंक खाता रोक्का


काठमाडौं—धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा लगानीकर्ताबीच जारी विवाद पुनः चुलिएको छ । लगानीकर्तामध्येका एक डा. रुपज्योतिले अस्पतालले आफूलाई तिर्नुपर्ने २० करोड रकम नतिरेको भन्दैं अदालत गुहारेपछि अदालतले ग्राण्डीका सबै बैंकमा रहेका खाता रोक्का गरिदिएको छ ।

अस्पताल स्रोतकाअनुसार झण्डै १०—१५ दिनदेखि अस्पतालको बैकिङ कारोबार ठप्प भएको छ । कर्पोरेट सेक्टरमा बेन्चमार्क खडा गर्ने भनेर खोलिएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सुरुवातीदेखि नै लगानीकर्ताहरुबीचको विवाद छ । १ सय २६ जना लगानीकर्ता रहेको ग्राण्डी अस्पतालमा डा. उपेन्द्र महतोको २० प्रतिशत र डा. रुपज्योति २५ प्रतिशत शेयर छ । त्यसबाहेक अन्य १ सय २४ जनाको ५० प्रतिशत शेयर छ ।

तर, दुवै मुख्य लगानीकर्ता अस्पताल व्यवस्थापन बाहिर रहेरै ग्राण्डी अस्पताल सञ्चालनमा छ ।

डा. रुपज्योतिले ग्राण्डी अस्पतालले झण्डै १० वर्षदेखि आफूलाई तिर्नुपर्ने रकम नतिरेका कारण अहिले सबै खाता रोक्का गर्नुपर्ने अवस्था आएको बताए । ‘१० वर्षदेखि मैले अस्पतालबाट झण्डै १ अर्ब ५० करोड जति लिनुपर्नेछ । उनीहरुको नतिर्ने नियत देखियो,’ उनले हेल्थआवाजसँग भने, ‘मैले तमसुक गरेर दिएको पैसाको तमसुकको म्याद नै सकिने थालेपछि कानुनी उपचार गएन भने त्यो सबै जान्छ । तर, मैले २० करोड रुपैयाँ मात्र अस्पताललाई तिर्न भनेको हो ।’

डा. रुपज्योति दुई वर्षअघि १० करोड २० लाख रुपैयाँ साँवा तिर्नुपर्ने भन्दै ग्राण्डी अस्पताल व्यवस्थापन विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्धा हालेका थिए । उक्त मुद्धा जितेपछि ग्राण्डीको व्यवस्थापन उच्च अदालतमा गयो । उच्च अदालतबाट पनि डा. रुपज्योतिले नै मुद्धा जिते । त्यसपछि दुई पक्षबीच मेलमिलापका कुरा पनि अगाडि बढे ।

तर, उक्त कुराकानीअनुसार काम नभएपछि आफूले पुनः अदालतको निर्णय कार्यन्वयन गराउन अदालत नै गुहार्न परेको दावी डा. रुपज्योतिको छ । ‘अदालतको दुई तहबाट फैसला भइसकेको कुरालाई पनि उनीहरुले दुःख दिने रुपमा मात्रै प्रयोग गरे । तिर्नका लागि कुनै पहल गरेन्,’ डा. ज्योतिले थपे, ‘अहिले सबै बैंकलाई पत्र लेखेर कारोबार रोकेको छ ।’

सबै खाता रोक्का भएपछि ग्राण्डी व्यवस्थापनले डा. रुपज्योतिलाई संस्थालाई असहज अवस्था सिर्जना नगरिदिन आग्रह गरेको छ । त्यसका लागि व्यवस्थापनले महिनामा १ करोडका हिसाबले डेढ वर्षजतिमा उक्त साँवा रकम तिर्ने प्रस्ताव राखेको डा. रुपज्योति बताउँछन् । ‘मिटिङ त बस्यो, एक—एक करोड गरेर एक डेढ वर्षमा तिर्छु भन्छ,’ उनले थपे, ‘मैले एक वर्षमा तिर्नका लागि छोडिदिए र फेरि तिरेन भने अदालत जान पाउँदैन् । धेरै रकम त होइन् २० करोड हो । बैंकबाट लिएर तिरिदिए भैहाल्छ ।’

तर, अहिलेको अस्पताल सञ्चालक समितिले भने डा. रुपज्योतिले सञ्चालक समितिमा रहँदा ६९ करोड ऋणको भारी संस्थालाई बोकाएको दावी गर्दै आएको छ । उक्त ऋणमध्ये ५१ करोड रुपैया तिरिसकेको र १८ करोडमात्रै तिर्न बाँकी रहेको दावी उनीहरुको छ । यस विषयमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको अहिलेको सञ्चालक समितिका अध्यक्ष ईं. दीपक कुँवरसँग सम्पर्क गर्दा उनले यसबारेमा केही बोल्न चाहेनन् । ‘यसबारेमा म अहिले केही बोल्दिनँ,’ उनले भने, ‘जे बोल्छ, संस्थाको वकिलले बोल्छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. उपेन्द्र महतो, #डा. रुपज्योति


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ