२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारBREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ?

BREAKING: स्वास्थ्य सचिव डा. पुष्पा चौधरी राजीनामा दिएर बन्लिन् त विश्व स्वास्थ्य संगठनको जागिरे ?


भिषा काफ्ले/काठमाडाैं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले विश्व स्वास्थ्य संगठनको एक उच्च तहमा नाम निकालेपछि स्वास्थ्य मन्त्रालयमा उनको राजीनामाको विषयलाई लिएर चर्चा सुरु भएको छ । सचिव डा. चौधरीले विश्व स्वास्थ्य संगठनको पी—फाइभ लेभल (मातृ तथा बाल स्वास्थ्य हेर्ने क्षेत्र)मा नाम निकालेपछि उनले राजीनामा दिएर विश्व स्वास्थ्य संगठनको जागिरे हुन जाने हुन् वा जागिर छाडेर सचिव नै हाँक्ने हुन भन्ने कुरा निक्र्यौल भने भैसकेको छैन् ।

स्रोतकाअनुसार उनले सो पदका लागि दिएको लिखित तथा अन्तर्वार्ता दुवैमा नाम निकालेकी हुन् । उच्च तहका पदमा हुने नियुक्तिलाई विश्व स्वास्थ्य संगठन सम्बन्धित ब्यक्तिलाई मात्रै जानकारी गराएर ‘कन्फिडेन्सियल’ राख्छ । सो विषयमा हेल्थआवाज डटकमले डा. चौधरीसँग जिज्ञाशा राख्दा उनले त्यो कुरा हल्लामात्रै रहेको दाबी गरिन् । ‘त्यो विषय हल्लामात्रै हो, त्यस्तो केही छैन्,’ सचिव डा. चौधरीले भनिन् ।

उक्त पदका लागि लिखितमा पूर्व सचिव डा. किरण रेग्मी र सचिव डा. चौधरीको नाम निस्किएको थियो । तर, अन्तर्वार्तापछिको अन्तिम छनोटमा भने डा. चौधरी छानिएकी हुन् । लिखितमा आफ्नो नाम निस्किएको कुरा पूर्व सचिव डा. रेग्मीले पुष्टि गरिन् । ‘मैले सो पदमा अनलाइनमार्फत परीक्षा दिएकी थिएँ, लिखितमा मेरो नाम निस्कियो । त्यसमा मसँगै सचिव डा. चौधरी पनि नाम निस्किएको कुरा सुनेकी हुँ,’ उनले भनिन्, ‘अन्तर्वार्तापछि म जुम्ला आएका कारण अपडेट हुन पाएकी छैन् ।’

जी फाइभ पद विश्व स्वास्थ्य संगठनको नीतिगत प्रभाव पार्ने पद हो । सो पद विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्व एसिया निर्देशकभन्दा दुई तह तल्लो मानिन्छ ।

किन ताक्दैंछिन् डब्लुएचओ ?

मन्त्रालय निकटस्रोतकाअनुसार संसदको राज्यब्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको संघीय निजामती सेवा विद्येयक अहिलेकै अवस्थामा संसदबाट पास भएर ऐन बनेमा डा. चौधरी स्वास्थ्य मन्त्रालयमै रहने ग्यारेण्टी नभएका कारण समयमै आफ्नो वैकल्पिक बाटो सुनिश्चित गर्न डब्लुएचओको उक्त पदमा आवेदन दिएकी हुन् । ‘संघीय निजामती ऐन आएपछि स्वास्थ्य मन्त्रालयमै रहने सुनिश्चिता नभएकै कारण डब्लुुएचओमा आवेदन दिनुभएको होला,’ स्रोतले भन्यो ।

चौधरी निकटस्रोतकाअनुसार मन्त्रालयमा आफ्ना लागि राम्रो काम गर्ने वातावरण बन्न नसकेपछि उनले केही समयअघि विश्व स्वास्थ्य संगठनमा जागिरका लागि आवेदन दिएकी थिइन् । ‘सम्भवतः अब सचिवज्यूले केही दिनमै राजीनामा दिनुहुन्छ होला,’ उनी निकट स्रोतले हेल्थआवाजसँग भन्यो, ‘उहाँ विश्व स्वास्थ्य संगठनको पी—फाइभ पदका लागि छानिनुभएको छ ।’

प्रस्तावित निजामति सेवा ऐनले बहालवाला सचिव तथा सह—सचिवलाई दुई वर्षसम्म अन्तर्राष्ट्रिय दातृ तथा गैर सरकारी संस्थामा काम गर्न नपाइने प्रस्ताव गरेको छ । सो विधेयक तत्काल संसदबाट पारित भएमा डा. चौधरीले विश्व स्वास्थ्य संगठनको पी फाइभ पदमा जागिरे बन्न पाउने छैनन् ।

मन्त्रीसँगको खटपट

लामो समयदेखि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग तालमेल नमिलिरहेका बेला उनको विश्व स्वास्थ्य संगठनको सो पदमा नाम निस्किएको हो । एकवर्षअघि तत्कालीन संघीय समाजवादी फोरम (हाल समाजवादी फोरम, नेपाल) का अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर आएका थिए ।

मन्त्री भएर यादव आएको दुई महिना पनि नबित्दैं सचिव डा. चौधरीसँग मन्त्रीको खटपट सुरु भएको थियो । २८ असोजमा मन्त्री यादवले सचिव चौधरीलाई मन्त्रिपरिषबाट प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयमा फाजिल राख्ने निर्णय गराएका थिए । सो निर्णय विरुद्ध सचिव चौधरी सर्वोच्च अदालत गएकी थिइन् ।

सर्वोच्च अदालतले उनलाई स्वास्थ्य मन्त्रालयमै काम गराउन अन्तरिम आदेश दिएको थियो । सो आदेशसँगै उनी स्वास्थ्य मन्त्रालय फर्किए पनि कामकाजबिहनी भएकी थिइन् । उनी मन्त्रालयमा फर्के लगतै असन्तुष्ट बनेका मन्त्री यादवले त्यसबेला प्रधानमन्त्री कार्यलयमा रहेका सचिव केदारबहादुर अधिकारीलाई अर्को सचिवका रुपमा स्वास्थ्य मन्त्रालय भित्र्याएका थिए । एउटै मन्त्रालय दुई सचिव भएतापनि लामो समयसम्म सचिव चौधरीलाई भूमिकाबिहीन बनाइएको थियो ।

दुई सचिवबीच टकराव बढेसँगै मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयमा दुई सचिवको दरबन्दी सिर्जना गरी एकलाई स्वास्थ्य क्षेत्र हेर्ने र अर्कोलाई प्रशासन तथा जनसंख्या हेर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको थियो । डा. चौधरीलाई कागजी रुपमा स्वास्थ्य हेर्ने जिम्मेवारी दिइएतापनि खासै भूमिका भने दिइएको छैन । मन्त्री उक्त कदमबाट सचिव चौधरी असन्तुष्ट छिन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ