२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण प्रयोगशाला स्थापनामा बेवास्ता

सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षण प्रयोगशाला स्थापनामा बेवास्ता


धनगढी-संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस (कोभिड-१९) परिक्षणका लागि प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको आज १२ दिन पुगेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले चैत २ गते सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशाला स्थापना गर्न निर्देशन दिएको थियो ।

तर, सुदूरपश्चिम प्रदेशमा भने प्रयोगशाला स्थापनाका लागि वेवास्ता गरिएको छ । अहिले हवाई सेवासमेत बन्द रहेको अवस्थामा परिक्षणका लागि स्वाव पठाउन समस्या भइरहेको छ । तर, प्रदेशस्तरमै प्रयोगशाला स्थापना गर्न भने चासो दिइएको छैन । प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक अस्मिता सापकोटाले अहिलेसम्म प्रदेशमै प्रयोगशाला स्थापनाका लागि कुनै तयारी नभएको स्वीकार गरिन् । उनले भनिन्, ‘विगतममा हवाई सेवामार्फत कोरोना परिक्षणका लागि स्वाव पठाउँदै आएका थियौं । लकडाउनपछि हवाई सेवा बन्द हुँदा केही दिन स्याम्पल पठाउन सकेनौ । बुधवार मात्रै महाकाली अस्पतालको गाडीमा १३ जनाको स्वाव पठाएका छौं ।’

अहिले सुदूरपश्चिमका कुनै पनि नागरिकले कोरोना भाइरसको शंका लागेर परिक्षण गर्न चाहेमा तत्काल कोरोना भाइरस परिक्षण गर्न पाउने अवस्था छैन । सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले पनि प्रदेशस्तरमै परिक्षणको व्यवस्था नहुँदा समस्या भइरहेको बताए । ‘पछिल्लो केही समययता शंकास्पद विरामीको अस्पतालमा चाप बढिरहेको छ,’ उनले भने, ‘तर परिक्षणका लागि काठमाडौं नमुना पठाउनुपर्ने बाध्यताले रिपोर्टका लागि तीन÷चार दिन पर्खिनुपर्ने बाध्यता छ ।’ उनकाअनुसार अहिले सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मात्रै ९ जनालाई राखिएको छ ।

कतिपय प्रदेशमा प्रयोगशाला स्थापना गर्ने तयारी अन्तिममा छ । तर, बढी जोखिममा रहेको सुदूरपश्चिममा त्यसको तयारी थालिएको छैन । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले भने अहिले नै प्रयोगशाला स्थापना गर्न सकिने अवस्था नरहेको बताए । ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिम पनि आएको थियो । तर, यसै आर्थिक वर्षभित्र प्रयोगशाला स्थापना गर्न सकिने सम्भावना कम छ । अर्को आर्थिक वर्ष हामी बजेट विनियोजन गर्छाै,’ मन्त्री सुवेदीले भने ।

यता सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले भने, ‘संघीय सरकारसँगको बैठकमा हामीले त्यो विषयलाई पनि उठाएका थियौं । सकभर सबै प्रदेश नभए तीन, चार वटा प्रदेशमा विस्तार गर्नुपर्ने माग हाम्रो थियो ।’ काठमाडौंमा नमूना पठाएर परिक्षण गर्न समस्या भइरहेको बताउँदै उनले थपे, ‘संघीय सरकारले छिटोभन्दा छिटो त्यसको व्यवस्थापन गर्छ भन्ने मलाई विश्वास छ । मेरो माग पनि त्यही छ ।’

गाडीमा काठमाडौं पठाइयो कोरोनाको आशंका गरिएका १३ जनाको स्याम्पल

लकडाउनसँगै हवाई सेवा बन्द भएपछि सुदूरपश्चिम प्रदेशमा संकलित कोरोना भाइरसको संक्रमणको आशंका गरिएका १३ जनाको थ्रोट स्वावको नमुना परिक्षणका लागि गाडीमार्फत काठमाडौं पठाइएको छ ।

धनगढीको तारानगरमा रहेको सुदूरपश्चिम प्रदेश प्रयोगशालामा बिभिन्न जिल्लाबाट संकलन गरी पठाइएको १३ वटा नमूना परिक्षणका लागि बुधबार साँझ गाडीमार्फत काठमाडौं पठाइएको हो ।

हवाईजहाज बन्द भएपछि तीन दिन यता थ्रोट स्वावको नमूना परिक्षणका लागि काठमाडौं पठाउन सकिएको थिएन । प्रदेश प्रयोगशालाकी निमित्त निर्देशक सापकोटाले सेती प्रादेशिक अस्पतालमा संकलित ८ वटा, महाकाली अस्पतालबाट पठाइएको २ वटा, बैतडीको २ र डोटी जिल्ला अस्पतालबाट पठाइएको एक नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको जानकारी दिइन् ।

यसअघि काठमाडौं पठाइएका १४ वटा नमुना नेगेटिभ पाइएको निमित्त निर्देशक सापकोटाले बताइन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ