२०८१ साउन २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी अस्पताल धाउँदा-धाउँदै पैसा सकिएपछि अन्तिम भरोसा वीर अस्पताल

निजी अस्पताल धाउँदा-धाउँदै पैसा सकिएपछि अन्तिम भरोसा वीर अस्पताल


काठमाडौं—निजी अस्पतालमा १२ दिनमै २ लाख रुपैयाँ उपचारमा खर्च भएपछि श्रीमानको उपचारका लागि वीर अस्पताल आएकी छिन्—गोमा भण्डारी । वीर अस्पतालको ग्यास्ट्रोलोजी कक्षमा भेटिएकी गोमाका श्रीमानको उपचार वीर अस्पतालमा भइरहेको छ ।

ललितपुरको गोदावरी नगरपालिका—१४ घर भएकी उनी आफना श्रीमान अशोक बर्मालाई २० मंसिरमा वीर अस्पतालमा लिएर आएकी हुन् । सुरुमा उनका श्रीमानको उपचार अल्का अस्पतालमा गराइयो । १२ दिन राखेर उपचार गराउँदा उनको २ लाख रुपैयाँ खर्च भयो । तर, उनका श्रीमानको स्वास्थ्यमा केही पनि सुधार आएन् ।

श्रीमानको रोग पत्ता लाग्छ भन्दै थिए डाक्टरले तर श्रीमानको अवस्था एकदमै नाजुक हुँदैं गएको देखेपछि गोमा डराइन् । आफ्नो आर्थिक अवस्थाले गर्दा उपचार गर्ने पैसा पनि नपुग्ला कि भन्ने चिन्ताले समेत उत्तिकै सत्ताउन थाल्यो ।

आफन्तहरुले उनलाई निजीभन्दा सरकारी अस्पचालमा लगे उपचार खर्च कम लाग्ने सल्लाह दिए । त्यसपछि उनले १४ मंसिरमा श्रीमानलाई वीर अस्पताल ल्याइन् । वीरमा आएको एक दुई दिनमै उनका श्रीमानको ठूलो आन्द्रा पूरै खराब भैसकेको पत्ता लाग्यो ।

किड्नीको केही दिन डायलाइसिस गर्नुपर्ने अवस्था देखियो । चिकित्सकको सल्लाहअनुरुप उनले त्यो पनि गराइन् । स्वास्थ्यमा सुधार आइसकेकाले अब डायलाइसिस गराउन नपर्ने भनिएको बताउँदै यो अस्पताल आएको हप्ता दिनमा एक लाख खर्च भएपनि श्रीमानको स्वास्थ्यमा सुधार आएकोले खुसी भएको उनले बताइन् । सामान्य टेलरको काम गरेर जीविकोपार्जन गरिरहेकी उनी भन्छिन्, ‘पहिले नै सरकारीमा आएको भए त्यति धेरै पैसा खर्च हुने थिएन कि ?’

वीरगन्जस्थित निजी अस्पताल अली अर्थो एण्ड ट्रमामा १ महिनामा २ लाख ५० हजार रुपैयाँ खर्च गर्दा पनि रोग पत्ता नलागेपछि रौतहटका हरि जैसवाल वीर अस्पताल आउन बाध्य भए । उपचारका लागि महिना दिनमै अली अर्थोमा २ लाख ५० हजार खर्च गर्दा पनि स्वास्थ्यमा केही सुधार नआएपछि वीर अस्पताल आउनु परेको अनुभव उनले हेल्थआवाजलाई सुनाए ।

१८ वर्षीय छोरा अरुण जैसवालसँग वीर आएका उनी पेटमा समस्या भएपछि १५ कार्तिकदेखि वीरगंजको अली अर्थो अस्पतालमा उपचार सुरु गरेका थिए । १५ मंसिरसम्म पनि रोग नै पत्ता नलागेपछि त्यहाँका डाक्टरले भनिदिए, ‘यहाँ उपचार हुन सक्दैन् अरु अस्पताल जानुहोस् ।’ त्यहाँबाट रिफर भएपछि एकजना आफन्तको सल्लाहमा १६ मंसिरमा उनीहरु वीर अस्पताल आएका हुन् । वीरमा आएको दुई दिनमै हरिको पूरै लिभर ड्यामेज भएको पत्ता लाग्यो । हाल उनको उपचार वीरमा नै भइरहेको छ ।

काठमाडौं गौशालाकी शर्मिला कोइराला श्रीमानलाई निजीमा अस्पतालमा भर्ना गर्न नसक्ने अवस्था भएपछि वीर अस्पताल पुगिन् । ‘भर्नाकै लागि ५० हजार डिपोजिट गर्न भनेपछि म वीर आए,’ उनले सुनाइन् । वीर अस्पतालको ग्यास्ट्रोलोजी कक्षमा श्रीमान राजु कोइरालाको उपचार गराइरहेकी उनी सुरुमा चाबहिलस्थित हेल्पिङ ह्याण्डस अस्पताल गएकी थिइन् । त्यहाँ ५० हजार रुपैयाँ डिपोजिट गरेपछि मात्रै भर्ना गरेर उपचार गर्न सकिने भएपछि उनी वीर आउन बाध्य भइन् । ‘आईसीयुमा राख्नुपर्ने हुँदा ५० हजार खर्च हुन्छ भनेको थियो । तर, वीरमा आएपछि १० हजार रुपैयाँ डिपोजिटमा उपचार भैरहेको छ,’ उनले भनिन् ।

शर्मिलाले हेल्पिङ ह्याण्डसमा ७ हजार रुपैयाँ खर्च गरेर चेकजाँच गराएकी थिइन् । मुटु फुलेको हँुदा उनलाई आईसीयूमा राख्नुपर्ने डाक्टरले बताएका थिए । न्यून आम्दानी भएको उनको परिवारको लागि त्यो रकम जुटाउन गाह्रो थियो । त्यही कारण उनी वीर आउन बाध्य भइन् ।
निजी अस्पतालमा पैसा हुन्जेल मात्र उपचार गर्ने र पैसा सकिएपछि सरकारी अस्पताल लैजानुपर्ने बाध्यात्मक अवस्थाका यी त प्रतिनिधी उदाहरण मात्रै हुन् । निजी अस्पतालमा उपचारमा पैसा सकेर रित्तो भएपछि सरकारी अस्पतालमा पुग्ने बिरामीका यस्ता अनगिन्ती कथा भेटिन्छन् ।

निजीले पैसा हुन्जेल उपचार गर्ने र सकिएपछि सरकारी अस्पताल रिफर गर्ने अवस्था किन आउँछ ? एशोसिएसन अफ प्राइभेट हस्पिटल तथा नर्सिङ होमका महासचिव हेमराज दाहाल निजी अस्पतालले निःशुल्क सेवा दिन नसक्ने भएकाले यस्तो अवस्था आउने गरेको बताउँछन् । ‘निजी अस्पतालमा उपचार गर्न धेरै प्रकारका बिरामी आउँछन् । प्राइभेट कुनै—कुनैले लामो समयसम्म अस्पताल र आईसीयुमा बस्नुपर्ने केसहरूमा बिरामीहरु अस्पतालमा खर्च बढी भएको भन्दै सरकारी जान थाल्छन्,’ दाहाल भन्छन्, ‘यो कुरा स्वाभाविक पनि हो । किनभने निजी अस्पतालले निःशुल्क सेवा दिन सक्दैन् ।’

सरकारले गरिब विपन्नहरुलाई १० प्रतिशत उपचारमा छुट दिनुपर्ने व्यवस्था गरिदिएको छ । त्यसमा आफूहरु सकारात्मक भएको निजी अस्पताल संचालकहरु बताउँछन् । तर, १० प्रतिशत छुटका लागि सिफारिस लिएर आउनेहरूमा गरिब विपन्न भन्दापनि भिआईपीहरु आउने गरेको देखिएकाले सरकारले यो बारे सोच्न आवश्यक रहेको उनी बताउँछन् ।

‘१० प्रतिशत उपचार छुट भन्ने जुन नीति छ, त्यो नीति नै फ्लो नभइरहेको अवस्था छ । त्यसका लागि सरकारबाट नै कुनै निश्चित वर्ग अथवा कुनै निश्चित परिचयपत्र भएकाहरुको जबसम्म पहिचान हुँदैन तबसम्म सही र सम्बन्धित व्यक्तिले सेवा पाउन कठिन हुन्छ,’ उनी भन्छन् । यसबाहेक निजी अस्पतालहरुले पैसा हुन्जेल उपचार गर्ने र सकिएबितिकै सरकारी अस्पताल रिफर गर्ने परिपाटीलाई कम गर्न सामाजिक उत्तरदायित्वलाई ख्याल गरेको देखिदैंन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ