२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि गृह र स्वास्थ्यको संयुक्त कार्य योजना बनाइने

स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि गृह र स्वास्थ्यको संयुक्त कार्य योजना बनाइने


काठमाडौं-स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गृह मन्त्रालय मिलेर संयुक्त रुपमा कार्य योजना बनाउने भएका छन् । दुई मन्त्रालयका मन्त्री र सचिवसहित सोमबार स्वास्थ्य मन्त्रालयमा भएको वृहत छलफलमा बोल्दैं उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सो कुरा बताएका हुन् ।

गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई, तीन वटै सुरक्षा निकायका उच्च अधिकारीसहित स्वास्थ्य मन्त्रालय पुगेका थिए । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा चिकित्सकहरुमाथि हातपात हुन थालेपछि सो विषयमा छलफलको लागि स्वास्थ्य मन्त्रालयले गृहमन्त्रीलाई बोलाएको हो ।

उपप्रधानमन्त्री यादवले विरामीको सुरक्षा स्वास्थ्यकर्मीले गर्नुपर्ने र स्वास्थ्यकर्मीको सुरक्षा सुरक्षाकर्मीले गर्नुपर्ने बताए । पछिल्लो समयमा अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण प्रवृत्तिगत समस्या भएको हुँदा अपराधिक मानसिकता बढ्दैं गएको उनको भनाइ थियो । अपराधीकरणलाई कम गर्न जनचेतना र कार्वाहीको प्रक्रिया सँगसँगै लैजानुपर्नेमा यादवले जोड दिएका थिए ।

छलफलमा बोल्दैं गृहमन्त्री थापाले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षामा सरकार गम्भीर रहेको बताए । उनले घटना घट्न नदिन र घटे पनि कम क्षतिका लागि तत्काल सूचना दिने संचार संयनत्र बन्नुपर्नेमा जोड दिए । ‘घटना हुनै नदिन उपायहरु खोज्नुपर्छ,’ गृहमन्त्री थापाले भने ‘यदि भैहालेमा तत्काल सुरक्षाकर्मीलाई सूचना दिने संयन्त्र सबै स्वास्थ्य संस्थाले बनाउनुपर्छ ।’

मन्त्री थापाले स्वास्थ्यकर्मी आफैले पनि आफ्नो पेशाप्रति जिम्मेवार हुनुपर्ने बताए । उनले पछिल्लो समय स्वास्थ्यकर्मी र अस्पताल संचालकहरु बढी पैसामुखी भएको भन्दैं पहिले आफू सच्चिनुपर्ने बताए । सबै क्षेत्रमा दलाल पसेझैं स्वास्थ्य क्षेत्रमा पनि दलाल रहेको भन्दै तिनीहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्नेमा जोड उनको थियो । ‘अन्य क्षेत्रमाझैं स्वास्थ्य क्षेत्रमा पनि दलालहरु छन्,’ उनले भने, ‘तिनीहरुलाइ तह लगाउन तपाईंहरुको प्रमुख भूमिका हुन्छ ।’

गृह सचिव प्रेमकुमार राईले चिकित्सक तथा अस्पतालले दिएको सेवामा गुणस्तरीयता नपाइएको आरोप लगाए । उनले सेवामा गुणस्तर सुधार गर्न सके यस्ता समस्या आफै समाधान हुने बताए । स्वास्थ्य सचिव रामप्रसाद थपलियाले स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालय, अस्पताल प्रशासन र गृह प्रशासनको संयुक्त सहकार्य हुन सके यस्ता घटना निर्मुल हुने बताए ।

सरोकारवालाहरुले स्वास्थ्य संस्था र चिकित्सकमाथि हुने हमलामा गिरोह नै सक्रिय रहेको भन्दै दुवै मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ