२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड—१९ जाँच्न चीनबाट ल्याइएका ५ मध्ये ४ प्रोटेवल पीसीआर थन्किए

कोभिड—१९ जाँच्न चीनबाट ल्याइएका ५ मध्ये ४ प्रोटेवल पीसीआर थन्किए


काठमाडौं–कोभिड—१९ जाँचका लागि नेपाल सरकारले चीनबाट ल्याएका ५ वटा प्रोटेवल पीसीआर मेसिनमध्ये चार वटा थन्किएका छन् । अधिकांश स्थानमा आरटी—पीसीआर मेसिन जडान गरी ठूलो मात्रामा स्वाव परीक्षण हुन थालेसँगै प्रोटेबल मेसिन थन्किएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अघिल्लो महिना देशका विभिन्न स्थानमा कोभिड—१९ जाँच गर्न पाचबटा प्रोटेवल पीसीआर मेसिन खरिद गरेको थियो । ती मेसिन जनकपुर, पोखरा, बुटवल, धनगढी र सुर्खेत लगेर कोभिड—१९ परीक्षण गरेको थियो ।

पाँच वटामध्ये अहिले कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतमा रहेको मेसिन मात्र नियमित संचालनको अवस्थामा छ । जनकपुर लगिएको प्रोटेवल मेसिनले गत हप्ता एउटा नमुना नेगेटीभ देखाएको थियो । सो नमुना काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा पोजेटीभ आएपछि त्यसलाई पनि बन्द गरिएको छ ।

प्रदेश नम्बर २, प्रादेशिक प्रयोगशालाका निमित्त निर्देशक रामविनय साहले मेसिनको गुणस्तरमा शंका लागेपछि परीक्षण रोकेको बताए । ‘एक युवकको आरडिटी परीक्षणमा कोभिड पोजेटिभ देखियो । त्यसपछि गत बिहीबार जनकपुर प्रादेशिक अस्पतालमा रहेको पोर्टेबल पीसीआर मेसिनमा दुई पटक परीक्षण गर्दा कोभिड नेगेटिभ देखायो,’ निमित्त निर्देशक साहले भने, ‘रिपोर्टमा शंका लागेर केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठायौं । त्यहाँ कोभिड पोजेटिभ आयो । त्यसैले पोर्टेबलको गुणस्तरमा शंका लागेर परिक्षण रोकेका हौं ।’

प्रादेशिक अस्पताल जनकपुरमा सो मेसिनमार्फत अहिलेसम्म एक सय बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । मेसिनको गुणस्तर नभएकाले यसअघि गरेका परीक्षणमा शंका उब्जिएको साहले बताए ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा जडान गरिएको पोर्टेबल पीसीआर मेसिन पनि बन्द भएको छ । ठूलो पीसीआर मेसिन आएपछि रोकिएको अस्पतालले जनाएको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको पोर्टेबल पीसीआर मेसिन पनि अहिले थन्किएर बसेको छ । सो मेसिनले २० वटा मात्रै परीक्षण गरेको थियो ।

प्रदेश नम्बर ५ मा तीन दिनदेखि पोर्टेबल मेसिन बन्द भएको छ । ठूलो पीसीआर मेसिन आएपछि बुटवलमा पनि पीसीआर मेसिनबाट परीक्षण रोकिएको रुपन्देही जनस्वास्थ्य प्रमुख राजेन्द्र गिरीले बताए । सरकारले ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग ती मेसिन खरिद गरेको थियो । प्रति मेसिन २१ हजार डलरका दरले ओम्नी समूहले चीनबाट खरिद गरी ल्याएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण भइरहेका बेला सेवा विस्तार गर्न तत्कालीन आवश्यकताका आधारमा ती मेसिन किनिएको निर्देशक डा. रुणा झाले बताइन् । अहिले धेरै भोल्युममा एकै पटक काम गर्न सक्ने मेसिन तयारी भइसकेको हुँदा प्रोटेवल मेसिनलाई अस्पतालमा आकस्मिक जाँच गर्नको लागि प्रयोग गर्न सकिने बताउँछिन् । ‘हिजो अति आवश्यक परेको बेलामा ल्याएर चलाइएको हो,’ उनी भन्छिन्, ‘ती मेसिनले एक घण्टामा नै रिजल्ट दिन्छन् । आकस्मिक अवस्थामा काम लाग्ने ठाउँमा राख्नुपर्छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ