२०८१ कात्तिक ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बिरामी निकालेको भन्दै नोबेल अस्पताल विरुद्ध उजुरी, छानविन गर्ने सरकारको तयारी

बिरामी निकालेको भन्दै नोबेल अस्पताल विरुद्ध उजुरी, छानविन गर्ने सरकारको तयारी


विराटनगर–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट बिरामी निकालेको भन्दै विराटनगरस्थित नोबेल मेडिकल कलेज विरुद्ध उजुरी परेको छ । बिरामीका आफन्तले बिरामी निकालेको भन्दै नोबेल विरुद्ध कारवाहीको माग राख्दै शुक्रबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।

प्रसुती शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार नोबेल अस्पतालले अप्रेशन थिएटरबाट निकालेको बिरामीका आफन्तले जनाएका छन् । प्रसुती व्यथा लागेपछि मंगलबार नोबेलमा भर्ना गरिएकी सरस्वतीको बुधबार बिहान शल्यक्रिया गर्ने समयमा उदयपुर घर भएको बुझेपछि नोबेलका चिकित्सकले शल्यक्रिया कक्षबाटै बाहिर निकालेर कोशी अस्पताल रेफर गरेका थिए । रेफरको कागजमा उदयपुर घर भएको कारण रेफर गरिएको लेखिएको छ ।

उदयपुर घर भएकै कारण बिरामीलाई उपचारबाट बञ्चित गर्ने अस्पतालमाथि कार्वाहीको माग गर्दै बिरामीका श्रीमान प्रकाश गुप्ताले उजुरी दिएका हुन् । जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिन गएकोमा शुक्रबार कार्यालय बन्द भइसकेकोले उजुरी दिन नपाएको बताउँदै उनले आइतबार प्रशासनमा पनि उजुरी दिने बताए । बिरामीले सहज रुपमा उपचार पाउने न्यूनतम मानबअधिकार पनि नोबेलले उल्लंघन गरी ज्यान जोखिममा पार्ने प्रयास गरेको भन्दै पीडित परिवारले उजुरी दिएको हो ।

आयोगको विराटनगरस्थित कार्यालयले उजुरी आएको बताउँदै बिरामी उपचारबाट बञ्चित हुनुपर्ने अवस्थालाई गम्भीर रुपमा लिएको जनाएको छ । उजुरीलाई आयोगको केन्द्रीय कार्यालयमा पठाएर आवश्यक कार्वाहीको प्रक्रिया थालिएको कार्यालयले जनाएको छ ।

नोबेलबाट रेफर भएर आएकी सरस्वतीको कोशी अस्पतालमा शल्यक्रियाबाट छोरा जन्मिएको छ । आमा र बच्चा दुवैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

नोबेल मेडिकल कलेजले भने शल्यक्रियाका लागि भर्ना भएकी बिरामीमा ज्वरो आएको दाबी गरेको छ । अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले शल्यक्रिया गर्ने बेलामा ज्वरो देखिएकाले चिकित्सकले कोरोनाको शंका गरेपछि कोशी पठाएको दावी गरेपनि नोबेलको रेफर कागजले उनको दावी खारेज गरेको छ । कोशीका चिकित्सक र उनका श्रीमानले पनि ज्वरो नआएको बताएका छन् ।

उदयपुरको भुल्केमा कोरोना संक्रमण देखिएको भएपनि जिल्लाभरका बिरामी लिन निजी अस्पतालहरुले अस्वीकार गर्दै आएका छन् ।

छानविन गरिने

यस घटनामा नोबल मेडिकल कलेजले गर्भवतीलाई निकालेको घटनाबारे सरकारले छानबिन र कार्वाही गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने बताएका हुन् ।

शुक्रबार आयोजित नियमित पत्रकार ब्रिफिङमा देवकोटाले संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए कारबाही हुने बताए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ