२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोशी अस्पताल जलमग्न, समस्यामा विरामी र कुरूवा

कोशी अस्पताल जलमग्न, समस्यामा विरामी र कुरूवा


विराटनगर—अस्पतालको प्रवेशद्वारमै घुँडा–घुँडासम्म पानी । एक हातमा जुत्ता र अर्को हातमा विभिन्न सामाग्री बोकेर विरामीका कुरूवा र आफन्त ओहर–दोहोर गर्दैछन् । लगातार परेको वर्षाले अस्पताल परिसरभरि पानी जमेर तालजस्तो बनेको छ । विराटनगरस्थित कोशी अस्पताल परिसरमा बिहीबार दिउँसो पुग्दा देखिएको दृश्य हो यो । लगातारको वर्षा र निकास जाने ठाउँ नहुँदा प्रदेश—१ को राजधानी विराटनगरमा रहेको कोशी अस्पताल परिसर जलमग्न छ ।

ढलको निकास नगरी उचो सडक बनाउँदा अस्पतालभित्र पानी पसेको हो । रोडभन्दा होचो ठाउँमा अस्पताल रहँदा सामान्य वर्षा हुँदा पनि सोझै पानी अस्पताल परिसरभित्र पस्ने गरेको छ । सडकको पानी अस्पतालभित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा पनि पानी पसेर जलमग्न छ । मंगलबारदेखि परेको पानी बुधबार प्रशासनिक भवनको कार्यकक्षमा पनि छिरेको अस्पतालले जनाएको छ ।

पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ । मोरङको कानेपोखरी गाउँपालिका– ६ रमाइलोबाट छोराको उपचार गराउन आएकी पवित्रा ऋषिदेव मुस्किलले अस्पतालभित्र प्रवेश गरिन् । ‘अस्पताल छिर्ने बित्तिकै घुँडा–घुँडासम्म पानी छ,’ उनले भनिन्, ‘अंगालोमा छोरालाई लिए । एक हातमा अन्य समाग्री बोकेर मुस्किलले छोरालाई चिकित्सकलाई देखाउन अस्पतालको ओपिडी वार्डमा पुगेर पूर्जा काट्न भ्याए ।’ पाँच वर्षीय छोरालाई ज्वरो आएपछि उनी बिहीबार विहान कोशी अस्पताल आएकी थिइन् ।

उनी जस्तै अन्य कोशी अस्पतालमा रहेका विरामीका कुरूवा र आफन्तहरूलाई अस्पताल परिसरमा पानी जमेर तालजस्तो बनेपछि ओहोर—दोहोरमा समस्या आएको बताएका छन् । बावु विरामी भएर कोशी अस्पतालमा भर्ना गराएका विराटनगरका श्याम कामतले गुनासो गर्दै भने, ‘औषधी र बावुलाई खाजा लिन बाहिर जानुपर्छ । अस्पतालको गेटमै पानी जमेर ताल बनेको दुई दिन भयो । पानीको सतह अझै घटेको छैन । पानीको निकास गराउन पनि सम्बन्धित निकायको ध्यान दिएका छैनन् ।’ दुई दिनसम्म पनि जमेको पानी नघट्दा ओहोर दोहोरोमा समस्या आएको उनले बताए । ‘अस्पताल परिसरभित्रको औषधी पसल अगाडी पनि पानी जमेर आहाल बनेको छ,’ उनले भने, ‘औषधी लिन जाँदा त लगाएको पाइन्ट पानीले भिज्ने गरेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ