२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपक्राउ परेका उपकुलपति प्रा.डा. रौनियारलाई काठमाडौं ल्याइयो, विशेष अदालतमा मुद्धा दायर गरिने

पक्राउ परेका उपकुलपति प्रा.डा. रौनियारलाई काठमाडौं ल्याइयो, विशेष अदालतमा मुद्धा दायर गरिने


काठमाडौं—घुससहित पक्राउ परेका धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका नातेदार डा. रामहरि रौनियारलाई काठमाडौं ल्याइएको छ ।

प्रतिष्ठानको भवनको ठेक्का पाएका ठेकेदारबाट लिएको ८ लाख रुपैंयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले बिहीबार रंगेहात पक्राउ गरेको थियो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यलयका एसपी हेम थापाको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको थियो । प्रा.डा. रौनियार घुस रकम लिएर निवासमा गएलगत्तै पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीसँगै पक्राउ परेका डा. रामहरि उपकुलपति राजकुमारका भतिजा हुन् ।

प्रा.डा. रौनियार विरुद्ध मुचुल्का तयार पारेपछि शुक्रबार काठमाडौं ल्याइएको हो । विशेष अदालतमा उनी विरुद्ध आजै नै मुद्दा दायर गर्न लागिएको छ । पटक—पटक घुस मागेर हैरान पारेपछि ठेकेदारले नै अख्तियारमा उजुरी हालेका थिए ।

ठेकेदारले नै घुसका लागि दबाब दिएको टेलिफोन रेकर्ड अख्तियारलाई उपलब्ध गराएको स्रोतले जनाएको छ । त्यसपछि अख्तियारको टोली घुससहित पक्राउ गर्न परिचालन भएको थियो ।

विवादास्पद रौनियारको विगत
प्रा.डा. रौनियार भ्रष्टाचारमा संलग्न भएको पाइएपछि प्रतिष्ठान संचालक समिति (सिनेट)बैठकले चार महिनाअघि सर्वसम्मत रुपमा पदबाट हटाउने निर्णय गरेको थियो ।

गत फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको संचालक समिति सिनेट बैठकले हटाउने निर्णय गरेको थियो । प्रतिष्ठानका सह—कुलपति समेत रहेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको सिफारिसको आधारमा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी ओलीले रौनियारलाई पदबाट हटाउने निर्णय गरेका थिए ।

पदमुक्त भएपछि सर्वोच्चमा मुद्दा दायर गरेका थिए । अदालतले पुनर्बहालीको आदेशपछि डा. रौनियार पदमा पुनः बहाल भएका थिए ।

यस्तै, प्रा.डा. रौनियार यसअघि प्रतिष्ठानले एमडीका लागि खोलेको विद्यार्थी भर्नामा नेपाली विद्यार्थीभन्दा विदेशीलाई प्राथमिकता दिएपछि पनि विवादमा परेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ