२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री यादव भन्छन्, ‘जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ’

स्वास्थ्यमन्त्री यादव भन्छन्, ‘जुम्ला चिकित्सा शिक्षाको हब बन्न सक्छ’


काठमाडौं –उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा, शैक्षिक सेवाका साथै देशकै नमुना अनुसन्धान केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् । राजधानीमा शुक्रवार सुरु भएको प्रतिष्ठानको एमबीबीएस र बी फर्माको पाठ्यक्रम विकास कार्यशाला उद्घाटन गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

प्रतिष्ठानले सो प्रदेशको स्वास्थ्य हब बन्न सक्नुपर्ने धारणा उनले राखेका थिए । राजधानी काठमाडौं हावा पानी, आवाजको अति प्रदुषित सहर बनिरहेको अवस्थामा कर्णालीमा एमबीबीएस र बी फर्मा, विशेषज्ञ चिकित्सको अध्ययन हुन थालेपछि विद्यार्थी त्यता आकर्षित हुने उनको भनाइ थियो । उनले स्वच्छ वातावरणका कारण पनि जुम्ला चिकित्सा शिक्षाका लागि उपयुक्त स्थान रहेको बताए । ‘सबै किसिमले प्रदुषित काठमाडौंभन्दा स्वच्छ हावापानी भएको जुम्ला सबैको रोजाइ हुन्छ,’ उनले भने, ‘सबैले आफ्नो जिम्मेवारी पूरा गराैं जुम्लामा एमबीबीएस पढाइ सम्भव छ ।’

नीति/निर्माताहरुले कर्णाली र प्रदेश दुईलाई जहिले पनि विकटताको सोचले मात्र हेरेर उपेक्षा गरेको आरोप उनले लगाए । ‘जबसम्म म कर्णाली पुगेको थिइन्, तबसम्म मेरो सोच पनि आम मानिसजस्तै थियो,’ मन्त्री यादवले भने ‘जब म त्यहाँ पुगेर आए, कर्णाली त सम्भावना नै सम्भावनाको ठाउँ रहेछ ।’ मन्त्री यादवले प्रतिष्ठानले त्यसक्षेत्रमा स्याटेलाइट अस्पताल सञ्चालन गरी सेवा दिनसके बिरामीको कमी नहुने बताए ।

स्वास्थ्य सचिव रामप्रसाद थपलियाले सबैले आफ्नो जिम्मेवारीअनुसार काम गरेमा मात्र प्रतिष्ठानको परिकल्पनाले साकार पाउने बताए । उनले प्रतिष्ठानको लागि मन्त्रालयले गर्नुपर्ने हर सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

एमबीबीएस सम्भाव्यता अध्ययन कार्यदलका संयोजक प्रा.डा. श्रीकृष्ण गिरीले त्रिविले एमबीबीएस सुरु गर्ने अवस्थाभन्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवस्था धेरै राम्रो भएको हुँदा एमबीबीएस अध्ययनको लागि धेरै सम्भावना रहेको बताए ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेले एमडिजीपीको अध्यापन अनुमतिले आफूहरुलाई एमबीबीएस र बी फर्माको लागि हौसला मिलेको बताए । उनले कर्णाली प्रदेशका सबै अस्पतालसँग समन्वय गरेर प्रतिष्ठानले शैक्षिक कार्यक्रम अगाडि बढाउने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ