२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन

प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको उपचारका लागि प्रसुति गृह सबैभन्दा उत्तम थलो भएको बताएका छन् । जापान सरकारको सहयोगमा निर्माण भएको प्रसुती तथा स्त्री रोग अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संसारभरिमै प्रसुती सेवा दिने अस्पतालहरुमध्ये प्रसुति गृह एउटा रहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले सो अवसरमा जापान सरकारलाई धन्यवाद समेत दिए । जापान सरकारको सहयोगमा जाइकाले १४ महिनामा वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालको नयाँ भवन नेपाल सरकारलाई हस्तान्तरण गरेको हो । प्रसुती गृहको प्रधानमन्त्री ओली र वीरको नयाँ भवन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका छन् ।

यी दुवै भवन निर्माणको लागि २ अर्ब २६ करोड लागेको जनाइएको छ । मन्त्री यादवले प्रसुती गृहजस्तै अन्य अस्पताल काठमाडौंबाहिर स्थापना गर्ने तयारी भएको बताए ।

वीर अस्पतालको नयाँ भवन तीन तलाको छ । भुँइतलामा नेफ्रोलोजी विभाग, पहिलो तलामा ग्यास्ट्रोलोजी विभाग र दोस्रो तलामा कार्डियोलोजी विभाग छ । नयाँ भवनमा ९४ वटा शैय्या रहेको छ ।

प्रसुती गृह पनि ३ तलाको छ । भुइँतलामा आकस्मिक कक्ष सेवा, अप्रेशन थ्रिएटर सहितको प्रसूति सेवा रहेको छ । यस्तै, पहिलो तलामा प्रसुती कक्ष, पोष्ट अपरेटिभ वार्ड, एम.आई.सी.यू राखिएको छ । दोस्रो तलामा शिशुको विशेष हेरचाह गर्ने विभाग, एनआईसीयू, पिएनसी राखिएको छ । प्रसूति गृहका निर्देशक डा.जागेश्वर गौतमले यस वर्ष २३ हजारले सेवा लिने अनुमान गरिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ