२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर

विपी प्रतिष्ठानका पूर्व उपकुलपतिसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति वलभद्रप्रसाद दास (विपी दास) सहित ८ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । सोमबार अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार विगो जरिवाना र सजायको माग गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाकाअनुसार विपी प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्रप्रसाद दास (विपी दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापा र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ विरुद्ध मुद्धा दायर गरेको हो । यस्तै, वीपी प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तव, उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि. रवायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवाल विरुद्ध पनि भ्रष्टाचार गरेको आरोपमा अख्तियारले विशेषमा अदालतमा मुद्धा दर्ता गराएको छ ।

अख्तियारले प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरित बदनियतपूर्वक गैरकानुनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको पुष्टि भएको जनाएको छ । अख्तियारले प्रतिष्ठानका पदाधिकारी, कर्मचारीहरुले कानुन प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र कागजमा उल्लेखित प्राविधिक स्पेसिफिकेसन र सोही कागजमा संलग्न खरिद सम्झौताको शर्तअनुरुप बोलपत्र सारभूत रुपमा प्रभावग्राही नभएको वा खुलाउनुपर्ने ब्यवस्था उल्लंघन गरी न्यून कबोल बोलपत्र दाताको बोलपत्र पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्र दाताको बोलपत्र स्वीकृती तथा सम्झौता गरी भुक्तानी समेत दिएको उल्लेख छ ।

अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरेको भन्दैं अख्तियारले बलभद्रप्रसाद दासलाई ४ करोड ८ लाख ९८ हजार १९ रुपैयाँ , तत्कालीन अस्पतालका निर्देशक अरविन्दकुमार सिन्हालाई ३ करोड ७५ लाख ३० हजार ६ सय १९ रुपैयाँ, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई १ करोड ९६ लाख ९ हजार ८ सय ८० रुपैयाँ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठलाई ५७ लाख ७७ हजार ४ सय ५ रुपैयाँ विगो दाबीसहित सजायको माग गरिएको छ ।

यस्तै, प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाललाई २ करोड ३४ लाख ८१ हजार ८ सय १९ रुपैयाँ, डेपुटी मेनेजर अमित श्रीवास्तवलाई १ करोड ७४ लाख १६ हजार २ रुपैयाँ विगो माग दाबी गरिएको छ । यस्तै, उक्त उपकरण सप्लाई गर्ने प्रोसिजन मेडिकल प्रा.लि./बायोमेड इन्टरनेशनल प्रा.लि.का प्रोपराइटर चेतन अग्रवाललाई १ करोड ४ लाख १६ हजार ७ सय ९७ रुपैयाँ, उपकरण सप्लायर्स सर्जिकेम डिस्टिब्युटर्सका प्रोपराइटर उमेश अग्रवालसँग ६० लाख ३६ हजार ३ सय रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तीको पूर्णपाठः

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपतिदेखि अन्य नेतृत्व तहका कर्मचारीहरुको संलग्नतामा विभिन्न विषयमा व्यापक अनियमितता भएको समेत व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद सम्बन्धमा गरिएको छानविन तथा अनुसन्धानबाट विभिन्न उपकरण (वस्तु) तथा सेवा खरिदको प्रकृयामा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत बदनियतपूर्वक गैरकानूनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु-याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका प्रतिष्ठानका पदाधिकारी र सप्लायर समेत ८ (आठ) जना उपर आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र सम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा संझौता गरी भुक्तानी समेत दिई तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास) ले जम्मा रु.४,०८,९८,०१९।७१ (चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले रु.३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्टार नन्दकुमार थापाले रु.१,९६,०९,८८०/- (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठले रु.५६,७७,४०५/- (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिंदा निज प्रतिवादी बलभद्र प्रसाद दास (विपि दास) लाई बिगो रु.४,०८,९८,०१९।७१ (अक्षरुपी चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हालाई बिगो रु. ३,७५,३०,६१९।७१ (अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा), तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई बिगो रु. १,९६,०९,८८०/- (अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी) र रजिष्टार तुलबहादुर श्रेष्ठलाई बिगो रू.५६,७७,४०५/- (अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच) कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (1) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो दफा २४ अनुसार थप सजाय समेतको मागदावी लिइएको।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख दिनेश राज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा विभिन्न सामानहरूको बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको र सो खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भै नियम विपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेश भएको अवस्थामा लेखा प्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानी समेत गरी निज लेखा प्रमुख दिनेश राज दाहालले जम्मा रु.२,३४,८१,८१९।७१ –(दुई करोड चौतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवले रु.१,७४,१६,२००/- (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिदा निज प्रतिवादी दिनेश राज दाहाललाई बिगो रू.२,३४,८१,८१९।७१ (दुई करोड चौतीस लाख एकासी हजार आठसय उन्नाइस रुपैयाँ एकहत्तर पैसा) र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई बिगो रु.१,७४,१६,२००/- (अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय) कायम गरी निजहरूलाई ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउन समेतको मागदावी लिइएको ।

उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि./वायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिद संझौता गरी भुक्तानी लिई चेतन अग्रवालले जम्मा रु.१,०४,१६,७९७/- (एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवालले रु.६०,३६,३४३/-(अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अन्तर्गतको कसुर गरेको स-प्रमाण पुष्टि भएको देखिंदा चेतन अग्रवाललाई बिगो रू.१,०४,१६,७९७/-(एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे) र उमेश अग्रवाललाई बिगो रु.६०,३६,३४३/-(अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस) कायम गरी निजहरूलाई ऐ ऐनको सोही दफा ८ को उपदफा (४) बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको विगो समेत असुल गरी पाउन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

प्रदीपकुमार कोइराला
प्रवक्ता


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ