२०८१ वैशाख ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेशका जिल्ला अस्पताललाई १०० शैय्यामा विस्तार गरिने

प्रदेशका जिल्ला अस्पताललाई १०० शैय्यामा विस्तार गरिने


विराटनगर—प्रदेश १ मा रहेका जिल्ला अस्पतालहरुलाई आइसोलेन वार्डसहित १ सय शैय्या क्षमतामा स्तरोन्नती गरिने भएको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले यस्तो जानकारी दिएका हुन् । आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सकसहित जनशक्तिको व्यवस्था मिलाइने भएको छ । नीति तथा कार्यक्रममा कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिने र स्तरोन्नतीको कार्य सुरु गरिने उल्लेख छ ।

मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटरसहित स्तरोन्नती गरिने भएको छ । प्रदेश १ का सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोप्याथी सेवाको समेत सेवा विस्तार गर्दै लगिने भएको छ । धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटरसहित बहु–बिशिष्टीकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नती गर्दै लगिने उल्लेख गरिएको छ ।

‘रोग पालेर होइन फालेर बाचौं,’ भन्ने मान्यतालाई सार्थकता प्रदान गर्न महिलामा देखिने प्रजनन स्वास्थ्य समस्याहरु आङ खस्ने, पाठेघरको क्यान्सर, स्तन क्यान्सरको रोकथाम तथा उपचार व्यवस्थापनलाई सहज तुल्याइने भएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विपन्न, सीमान्तकृत, दलित, लोपोन्मुखलगायत पछाडि परेका समुदायलाई स्वास्थ्य सेवाको मूलधारमा ल्याई विद्यमान असमानतालाई अन्त्य गर्न सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने नीति तथा कार्यक्रमा उल्लेख छ ।

आगामी वर्षदेखि १ सय ३७ वटै पालिकाहरुमा बहुपक्षीय पोषणको कार्यक्रम वैदेशिक सहयोगसमेत परिचालन गरी लागु गरिने बताइएको छ । प्रदेश १ मा जेष्ठ नागरिकहरुको अनुहारमा मुस्कान छर्ने उद्देश्यसहित स्थानीय पालिकाहरुसँग सहकार्य गरी प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सबै पालिकाहरुमा संचालन गरिने भएको छ ।

प्रदेशका जनताको स्वास्थ्य सेवालाई थप चुस्त, प्रभावकारी पहुँचमा पु¥याउन उच्च प्राथमिकताका साथ कार्यक्रमहरु संचालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने विभिन्न महामारी विरूद्ध लड्न स्वास्थ्य सेवा प्रणालीलाई सबल र सुदृढ तुल्याउन आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै निरोधात्मक तथा उपचारात्मक एकीकृत स्वास्थ्य प्रणालीको विकास तथा सेवा विस्तारमा प्रदेश सरकारले जोड दिने भएको छ ।

कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरुको मनोबल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित बनाउन प्रदेश सरकारले उपयुक्त ढंगले प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ