२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिलगंगाबाट सबैले प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री ओली

तिलगंगाबाट सबैले प्रेरणा लिनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले तिलगंगा आँखा प्रतिष्ठानबाट सेवामुखी अस्पताल खोल्ने प्रेरणा लिनुपर्ने बताएका छन् । सोमबार प्रतिष्ठानको २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रतिष्ठानले पाएको उपलब्धि र हासिल गरेको सफलताका लागि बधाई दिदैं प्रधानमन्त्री ओलीले प्रतिष्ठानका निर्देशक डा.सन्दुक रुइतको प्रशंसा गरे । ‘डा.रुइतले गौरवपूर्ण इतिहास सम्झाउनु भएको छ,’ ओलीले भने, ‘आँखा उपचारको लागि विश्वको अग्रणी संस्था स्थापना गरेर धेरैलाई नयाँ संसार देखाउन उहाँ सफल हुनुभएको छ ।’

अस्पतालको सेवा र प्रयास अनुकरणीय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अनुसन्धान, तालिम र उपचारका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रतिष्ठान अब डब्लुएचओको ‘समन्वय केन्द्र’

कार्यक्रममा प्रतिष्ठानले विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको मान्यता पाएको जानकारी समेत दिइयो । संगठनका प्रतिनिधिमार्फत प्रतिष्ठानको २५ औं स्थापना दिवसका अवसरमा औपचारिक रुपमा प्रमाणपत्र समेत प्राप्त गरेको छ । आँखा स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरे बापत तिलगंगा आँखा प्रतिष्ठानलाई विश्व स्वास्थ्य संगठनले समन्वय केन्द्रको मान्यता दिएको हो ।

संगठनका नेपाल प्रतिनिधि डा.जोस भेन्डिलरले अस्पताललाई प्रमाणपत्र प्रदान गरेका हुन् । आँखा स्वास्थ्य सेवा, शैक्षिक तथा तालिम र अनुसन्धानका तीन विधामा डब्ल्युएचओले अस्पताललाई कोल्याबोरेटिङग सेन्टरको रुपमा मान्यता दिएको हो । योसँगै प्रतिष्ठान आँखाको क्षेत्रमा विश्व स्वास्थ्य संगठनबाट मान्यता पाउने पहिलो नेपाली संस्था बनेको छ ।

३ लाख ६३ हजार उपचार

तिलगंगा आँखा प्रतिष्ठानले सामुदायिक आँखा सुरक्षा कार्यक्रमअन्तर्गत सन् २०१८ मा ३ लाख ६३ हजार ३ सय ४७ विरामीको उपचार गरेको छ । अघिल्लो वर्ष २ लाख ७० हजार ३ सय ३६ जनाले अस्पताल नै पुगेर सेवा लिएका छन् ।

जसमध्ये २ लाख १५ हजार ४५ जनाको उपचार विस्तारित उपचार सेवामार्फत गरिएको र ८ हजार ५५ जनाको आकस्मिक सेवामार्फत उपचार गरिएको हो । यो संख्या अघिल्लो वर्षभन्दा ७ प्रतिशतले बढी रहेको प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष प्रतिष्ठानले २२ हजार ३५ जनाको आँखाको शल्यक्रिया गरेको छ ।

सन् २०१८ मा प्रतिष्ठानले ५ सय ९३ दाताहरुबाट एक हजार एक सय ७८ टिस्यु संकलन गरेको थियो । त्यसमध्ये एक हजार २४ वटा अन्य व्यक्तिमा ट्रान्सप्लान्ट गरेको जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ