२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ अनुसन्धान रणनीति सार्वजनिक

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ अनुसन्धान रणनीति सार्वजनिक


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाल स्वास्थ्य अनुसन्धान रणनीति, २०७६ सार्वजनिक गरेको छ । बिहीबार परिषद्ले राजधानीमा एक कार्यक्रम आयोजना गरी रणनीति सार्वजनिक गरेको हो ।

रणनीतिले संघीयता अनुरुप स्वास्थ्य अनुसन्धान प्रणालीको विकास र विस्तार गरी अनुसन्धानका विषयगत क्षेत्रहरुमा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ । परिषद्ले स्वास्थ्य अनुसन्धान प्रणालीको संस्थागत संरचना, जनशक्ति र पूर्वाधार तथा कार्यक्षेत्रलाई संघीयताअनुरुप क्रमसः विकास र विस्तार गर्ने रणनीति लिएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले रोगको तथ्यांक र स्वरुपमा परिवर्तन आएपनि मानिसहरुको व्यवहारमा परिवर्तन नआएकोप्रति चिन्ता व्यक्त गरे ।

जनसंख्या अनुपातका आधारमा स्वास्थ्य नीति नबनाएसम्म स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नसकिने मन्त्री यादवको धारणा छ । नेपालका सबै क्षेत्रमा एउटै स्वास्थ्य नीतिले काम नगर्ने उल्लेख गर्दै उनले जनसंख्या अनुपातका आधारमा हिमाल, पहाड र तराईमा फरक–फरक नीति लागू गर्नुपर्ने बताए । यसका लागि सरकारले आवश्यक काम गरिरहेको पनि उनले बताए ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्रसंघ बाल कोष, सेभ द चिल्ड्रेनलगायत विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ