२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजबाट विश्व स्तनपान सप्ताह सुरु

आजबाट विश्व स्तनपान सप्ताह सुरु


काठमाडौं-विश्व स्तनपान सप्ताह बिहीबारबाट प्रारम्भ भएको छ । स्तनपान सप्ताहको सुरु भएसँगै नेपालले पनि विभिन्न कार्यक्रमहरु गरी यो दिवस मनाउन थालिएको छ ।

‘आमाबाबुको सक्षमता, स्तनपानको सफलता’ भन्ने नाराका बिहीबार पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा सुरु गरिएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले स्तनपान सप्ताहको अवसर पारेर उक्त छलफलको आयोजना गरेको थियो ।

टेकुस्थित स्वास्थ्य तालिम केन्द्र हलमा विभिन्न चिकित्सकहरुले स्तनपानको विषयमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रममा हालसम्म रहेका स्तनपान सम्बन्धि समस्या र उक्त समस्या समाधानको विषयमा छलफल भएको थियो । विभिन्न चिकित्सकहरुले स्तनपान कसरी गराउने, यसका फाइदाहरु के-के हुन, स्तनपानलाई कसरी सुरक्षित बनाउने र कसरी प्रत्येक आमाहरुलाई निर्धक्कका साथ स्तनपान गराउनको निम्ति पे्ररित गर्ने भन्ने विषयमा वक्ताहरुले धारणा राखेका थिए ।

कार्यक्रममा मन्तब्य राख्दैं स्वास्थ्य सेवा विभागमा निर्देशक डा. सुशीलनाथ प्याकुरेलले बच्चाले दुध खाने अवस्था सिर्जना गर्नका लागि परिवार, समुदाय र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे । उनले स्तनपानको महत्वबारे जानकारी दिनका लागि विभागले विभिन्न प्रयासहरु गरिरहेको बताए ।

आफ्नो प्रस्तुती दिदैं परिवार कल्याण महाशाखाका डा. केदारराज पराजुलीले बालबालिका जन्मेदेखि नै पोषणको आवश्यकता पर्ने भएकाले ६ महिनासम्म लगातार स्तनपान गराउनुपर्नेमा जोड दिए । उनले पहिलो स्तनपान नवजात शिशुका लागि अति आवश्यक रहेको बताए ।

यस्तै, डा. अतुल उपाध्यायले कार्यस्थलमा स्तनपान कक्षहरुको स्थापना गर्नुपर्ने बताए । उनले बजारको दुधका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दैं आमाको दूधलाई स्टोर गरेर कसरी तीन दिनसम्म उक्त दुधको प्रयोग गर्न सकिन्छ भन्नेबारे जानकारी दिएका थिए ।

स्तनपान सप्ताहभरि हुने कार्यक्रमहरुका बारेमा पनि उक्त कार्यक्रममा जानकारी दिइएको थियो । जसअन्तर्गत पहिलो दिन आम नागरिकलाई स्तनपान सप्ताहका उद्देश्यका बारेमा सूचित गर्न सप्ताहको पत्रकार सम्मेलनको आयोजना गर्नेछ । यस्तै, सप्ताहमा स्तनपानको प्रर्वद्धन गर्दै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको उपभोगलाई निरुत्साहित गर्न एक उच्चस्तरीय अनुगमन टोलीले ऐन पालना गरेको नगरेको अस्पताल तथा पसलहरुको अनुगमन गर्ने, विभिन्न सञ्चारमाध्यमको प्रयोग गरी आम नागरिकको जनचेतना अभिवृद्धि गर्ने र प्रदेश तथा स्थानीय तह, साथै विभिन्न अध्ययन संस्थाहरुसँग संयोजन गरी स्तनपान सप्ताहलाई व्यापक रुपमा सफल बनाउन पहल गर्ने रहेका छन् ।

सन् १९९२ देखि प्रत्येक वर्ष अगस्ट १ तारिखदेखि मनाउँदैं आएको विश्व स्तनपान दिवस १ अगष्टबाट एक हप्तासम्म मनाइन्छ । विश्वभरका विभिन्न देशहरुजस्तै नेपालले पनि विगत लामो समयदेखि यो दिवसलाई आत्मसात गर्दै सोही अनुरुप विभिन्न कार्यक्रम गरेर मनाइदैं आएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ