२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा पूर्ण स्तनपान गराउने ६६ प्रतिशत मात्रै

नेपालमा पूर्ण स्तनपान गराउने ६६ प्रतिशत मात्रै


काठमाडौं-नेपालमा पूर्ण रुपमा स्तनपान गराउनेको संख्या ६६ प्रतिशत मात्रै रहेको छ । नेपालको जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ को तथ्यांकअनुसार नेपालमा पूर्ण रुपमा स्तनपान गराउने ६६ प्रतिशत मात्रै रहेको देखाएको छ ।

यस्तै, शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । यसैगरी उक्त सर्वेक्षणअनुसार स्तनपान गराउनुअघि १० जना नवजात शिशुमध्ये ३ जना नवजात शिशुहरुलाई घ्यु, मह, चिनी चटाउने गरेको देखिएको छ ।

आजदेखि सुरु भएको स्तनपान सप्ताहका अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले बिहीबार गरेको पत्रकार भेटघाट र अन्तक्रिया कार्यक्रममा पनि यो तथ्यांक प्रस्तुत गरिएको थियो ।

आमाको दुधको अभावमा शिशुहरुमा रोग प्रतिरोधात्मक क्षमताको कमी आउनुका साथै कुपोषण, मोटोपन, मधुमेहलगायतका रोगहरु लाग्न सक्छन् । स्तनपान नगराउने आमाहरु पनि स्तन क्यान्सर, अण्डासयको क्यान्सर, प्रसवोत्तर रक्तश्राप तथा मधुमेहजस्ता रोगको शिकार हुन सक्ने सम्भावना हुन्छ ।

तर, जनचेतना अभावमा नेपालमा स्तनपान गराउनेको संख्या घट्दै गएपछि सरकारले स्तनपान प्रवद्र्धनका लागि विभिन्न प्रयासहरु सुरु गरेको छ । उक्त पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रममा जानकारी दिइएअनुसार सरकारले आमाको दुधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री, वितरण, नियन्त्रण) ऐन, २०४९ को संशोधन गरी मन्त्रालयमा पेश गरेको छ ।

यस्तै, सातवटै प्रदेश तथा ७७ वटै जिल्लाका बीएमएस निरिक्षक एवं पोषण फोकल ब्यक्तिहरुलाई ऐन अनुगमन सम्बन्धि तालिम दिएको छ भने विभिन्न पोषण सम्बन्धी कार्यक्रमहरुमा आमाको दुध प्रतिस्थापन ऐन एवं सोही ऐनको अनुगमन सम्बन्धि सरकारी कर्मचारीहरुलाई अभिमुखीकरण गरेको छ । यसका साथै स्वास्थ्य संस्थामा मातृ शिशु तथा बालमैत्री सेवा अभियान पनि सरकारले सञ्चालन गरिरहेको छ ।

यस्ता छन् सरकारका स्तनपान सम्बन्धि प्रस्तावित कार्यक्रम

  • आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री, वितरण, नियन्त्रण) ऐन, २०४९ को संशोधन प्रक्रियालाई अग्रसरता दिन पहल तथा पैरवी गर्ने
  • प्रदेशस्तरमा स्तनपान सम्वद्र्धन, प्रवद्र्धन तथा संरक्षण उपसमिति गठन गरी त्यसका सदस्य तथा प्रदेशस्तरीय निरिक्षक तोक्ने तथा क्षमता अभिवृद्धि गर्दै अनुगनमा परिचालन गर्ने ।
  • सार्वजनिक स्थल तथा स्वास्थ्य संस्थाहरुमा स्तनपान कक्ष स्थापना गर्ने ।
  •  अस्पतालहरुलाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकास गर्ने ।
  •  प्रदेश तथा स्थानीयस्तरका स्वास्थ्य संस्थाहरु तथा सार्वजनिक स्थलहरुमा स्तनपान सम्बन्धी पोष्टर, क्यालेन्डर तथा सञ्चार सामाग्री वितरण गर्ने ।
  • समुदायस्तरमा महिला स्वास्थ्य स्वयंमसेविका, आमा समूहहरुलाई स्तनपानको महत्व एवं स्तनपान सम्बन्धि आशनबारे अभ्यास प्रदर्शन गर्ने ।

क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ