२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानका उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको मुद्धा दायर

विपी प्रतिष्ठानका उपकुलपति विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको मुद्धा दायर


काठमाडौं—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. डा. राजकुमार रौनियार विरुद्ध १ करोड २८ लाखको मुद्धा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. रौनियार विरुद्ध विशेष अदालतमा १ करोड २८ लाखको मुद्धा दायर गरेको हो ।

प्रा.डा. रौनियार २६ असार राति ८ लाख घुससहित प्रतिष्ठानको उपकुलपति निवासबाट रंगे हात पक्राउ परेका थिए । उनीसँगै उनका भतिजा डा. रामहरि रौनियार पनि पक्राउ परेका थिए । डा. रामहरि विरुद्ध भने ८ लाख रुपैयाँ विगो माग दाबी गरेर मुद्धा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।

पक्राउ परेको भोलिपल्ट रौनियारलाई काठमाडौं ल्याएर अख्तियारले मुद्धाको तयारी गरेको थियो । प्रा.डा रौनियारले प्रतिष्ठानको भवन निर्माणको ठेक्का कमिसन वापत ठेकेदारहरुसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको काठमाडौंबाट गएको विशेष टोलीले अप्रेसन गरेको थियो । सोही क्रममा रौनियार पक्राउ परेका थिए ।

 

अख्तियारको प्रेस विज्ञप्ति :- मिति २०७६।०४।१९ गते

वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रा.डा.राज कुमार रौनियार समेत २ जना उपर आरोप-पत्र दायर गरिएको ।
———————————
वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होष्टेल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिने श्याम सुन्दर निर्माण सेवा प्रा.लि. को सब कन्ट्रयाक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रा.लि. का प्रबन्ध निर्देशक सुशिल कुमार झासँग भवन निर्माणको मोबिलाइजेसन रकमको भुक्तानी दिँदा र बिभिन्न मितिमा रनिङ बिलको भुक्तानी दिँदा प्रतिष्ठानका उप-कुलपति प्रा. डा. राज कुमार रौनियारले पटक पटक कमिसन बापत घुस रिसवत लिएको भनी अडियो भिडियो सहितको उजुरी मिति २०७६/०३/१६ गते आयोगमा दर्ता भएको र उक्त उजुरीको बिषयमा आयोगमा अनुसन्धान भइरहेको अवस्थामा निज उपकुलपति प्रा. डा. राज कुमार रौनियारले फार्मेसी भवन निर्माणको चौथो रनिङ बिल भुक्तानीका लागि उजुरी निवेदक सुशिल कुमार झालाई बोलाई भुक्तानी दिनुपर्ने रकमबाट थप रु.८,००,०००।- कमिसन बापत घुस रिसवत माग गरेको भन्ने समेतको मिति २०७६/०३/२५ गते आयोगमा पेश गरेको अर्को उजुरीका आधारमा आयोगबाट खटिई गएको टोलीले वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा. राज कुमार रौनियारलाई निजले उजुरी निवेदकबाट घुस रिसवत लिई सोही प्रतिष्ठानमा हाउस अफिसरको रुपमा कार्यरत आफ्नै भतिज डा. रामहरी रौनियारलाई आफ्नो निवास A5 ब्लकमा राख्न पठाइसकेपछिको अवस्थामा निजकै कार्यकक्षमा फेला पारी रितपूर्वकको कानूनी प्रक्रिया पूरा गरी निज प्रा. डा. राज कुमार रौनियारलाई नियन्त्रणमा लिइएको र निजको निवास A5 ब्लकमा रितपूर्वक खानतलासी गर्दा निजको निवास भित्र रहेको सोकेसको घर्रामा निजले रिसवत बापत लिएको रू.८,००,०००।–फेला परेकोले खानतलासी तथा बरामदी मुचुल्का गरी उल्लिखित रकम सहित निजको भतिज डा. रामहरी रौनियारलाई समेत सोही A5 ब्लकबाट नियन्त्रणमा लिई आयोगबाट थप अनुसन्धान हुँदा निज राजकुमार रौनियारले उजुरी निवेदकबाट पटक पटक गरी जम्मा रु.१,२८,००,०००।- घुस रिसवत लिएको सप्रमाण पुष्टि हुन आएकोले निज राजकुमार रौनियार र निजको भतिज डा. रामहरी रौनियारलाई देहाय अनुसारको सजायको मागदाबी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

क) आरोपी प्रा.डा.राज कुमार रौनियारको हकमा
———————————————-
निज प्रा. डा. राज कुमार रौनियारले भ्रष्टाचार निवारण ऐन, २०५९ कोदफा ३ को उपदफा (१) को कसुर गरेको सप्रमाण पुष्टि हुन आएकोले निज प्रतिवादी प्रा. डा. राज कुमार रौनियारलाई बिगो रू.१,२८,००,०००।– (एक करोड अठ्ठाईस लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम जरिवाना र कैद सजाय हुन र निज प्रा. डा. राज कुमार रौनियार नेपाल सरकारको बिशिष्ट श्रेणीको पदाधिकारी भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजाय हुन समेत मागदावी लिइएको

ख) आरोपी डा. रामहरी रौनियारको हकमा
—————————————-
निज डा. रामहरी रौनियारले रिसवत लिनेखाने कार्यमा मतियार भई कार्य गरेको तथ्य सप्रमाण पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिमको कसुर गरेको देखिँदा निजको हकमा बिगो रू.८,००,०००।- (आठ लाख) कायम गरी सोही ऐनको दफा २२ बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) अनुसार कैद र जरिवाना हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रवक्ता
प्रदीपकुमार कोइराला


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ