२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १गोल्डेन अस्पतालले ओपिडीमा बिरामी नहेरेपछि…

गोल्डेन अस्पतालले ओपिडीमा बिरामी नहेरेपछि…


विराटनगर—विराटनगर– १२ दरैयाका ६७ वर्षीय श्यामप्रसाद क्षेत्रीलाई बिहीबार राती खोक्दा रगत देखियो । उनी शुक्रबार १० बजे विराटनगरस्थित गोल्डेन हस्पिटलमा चिकित्सकलाई देखाउन गए । क्षेत्रीे गोल्डेन अस्पतालका चिकित्सक श्याम रौनियारलाई देखाउन ओपिडीको पुर्जी काटेर देखाउन लाइनमा बसे । चिकित्सक आउने समय भएपछि जब देखाउन अस्पतालको दोस्रो तल्लामा प्रवेश गर्न खोजे सुरक्षा गार्डले प्रवेशद्वारको मुख्य गेटमा रोके । अस्पतालले कोरोनाको आशंका गर्दै क्षेत्रीलाई कोशी अस्पताल लैजान सुझाव दिदैं पठाइदिए ।

यस्तै, विराटनगर १६ की अमृतादेवी मण्डलको छाती बेसरी दुखेपछि उपचारका लागि गोल्डेन अस्पताल पुगिन् । उनले विगत ६ वर्षदेखि गोल्डेन अस्पतालका चिकित्सकसँग उपचार गर्दै आएका थिइन् । शुक्रबार सहन नसक्ने गरी अमृताको छाती दुखेपछि उनलाई लिएर बुहारी सपना गोल्डेन अस्पताल आएकी थिइन् । उनलाई पनि अस्पतालले अन्यन्त्र पठाइदियो । ‘आमाको क्षाती र मुटु सारो दुख्यो भन्दै रुन थालेपछि हतारमा अस्पताल लिएर आए,’ बिरामी अमृताकी बुहारी सपनाले भनिन्, ‘अहिले हस्पिटल आइपुग्दा कोरोना परीक्षण गरेको रिपोर्ट लिएर आए मात्र उपचार गर्छु भन्छ । आमा छाती दुख्यो भन्दै छटपटाउनुहुन्छ यहाँको अस्पतालले मेरो आमाको कुनै दुखेसो सुनेन । यस्तो बेला कहाँ गएर कोरोना परीक्षणको रिपोर्ट लिएर आउनु ?’

गोल्डेन अस्पतालको चिकित्सकलाई देखाउन आउने विरामी श्यामप्रसाद र अमृतादेवी मात्र होइन शुक्रबार आएका एक दर्जन विरामीलाई अस्पतालले कोरोनाको त्रासको कारणले अन्यन्त्र पठाएपछि उपचार नपाएर विरामी विचल्लीमा परेका छन् ।

सुनसरीका प्रकाशपुर नगरपालिका आक्षलाल उराउ पेटमा समस्या भएपछि छोरी ज्वाइलाई लिएर गोल्डेन अस्पताल आएका थिए । एक हप्ताअघि गोल्डेन अस्पतालका फिजिसियन डा. श्याम रौनियारलाई देखाएपछि उनी शुक्रबार अस्पतालमा फ्लोअपमा आएका हुन् । ‘चिकित्सकले शुक्रबार अस्पतालमा बोलाएका थिएँ,’ उनले चिकित्सकको पुर्जा देखाउँदै भने, ‘यहाँ आइपुग्दा अस्पतालभित्र प्रवेश गर्न दिदैन् । पेटमा समस्या भएर आएको थियो । चिकित्सकलाई देखाउन पाइन् । यस्तो बिरामी शरीर लिएर अब कुन अस्पताल जानु ?’

अस्पताल पुगेका बिरामीलाई त्यहाँ नराखेर अन्यत्र पठाउनु अस्पतालले मानवता बिर्सेको विरामी डा. श्यामलाई लिएका आएका उनका भदहा देशबन्धु ढकालले बताए । ‘६/७ वर्षदेखि डा. श्याम रौनियारलाई सानु बुवालाई देखाउँदै आउनुभएको छ,’ उनले भने, ‘अहिले विरामी भएर अस्पताल आउँदा अन्यत्र लैजाउ भन्दै पठाउनु अस्पतालले मानवता गुमाएको हो ।’ सहज भएको बेलामा प्रचार गरेर बिरामीलाई ल्याउन तछाड—मछाड गर्नेे अहिले देश कोरोनाले गर्दा संकटमा परेका बेलामा उपचार गर्दिन भन्ने हस्पिटल तुरून्त बन्द गरिनुपर्ने उनको भनाइ छ ।

यता हस्पिटलका प्रबन्धक महमद ज्याउलहकले दिनप्रतिदिन कोरोना संक्रमण फैलिरहेको अवस्थामा सावधानी अपनाएर हस्पिटलले सेवा प्रदान गर्दै आएको दाबी गरे । उनले ओपिडीमा आउने बिरामीको स्क्रिनिङ गरेर उपचार गर्न पठाउने गरेको दावी गरे । ‘अहिले हाम्रो अस्पतालको आकस्मिक सेवा २४ घण्टा संचालनमा छ,’ उनले भने, ‘ओपिडीमा आएका बिरामीको हकमा मात्र हामीले सामाजिक दूरी कायम गरेर स्क्रिनिङ गरी बिरामी अस्पतालका विशेषज्ञ चिकित्कसलाई देखाउन पठाउने गरेका छौं ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ