२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन सय शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय भएको ६ महिना बित्दा पनि कार्यान्वयन शुन्य

तीन सय शैय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय भएको ६ महिना बित्दा पनि कार्यान्वयन शुन्य


काठमाडौं—देशको एक मात्रै संक्रामक रोग अस्पताल घना बस्ती भित्र भएपछि त्यसलाई बस्तीभन्दा पर सार्ने भनिएपनि अझै प्रक्रिया अघि बढेको छैन । टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई सहरभन्दा बाहिर लगेर ३ सय शैय्याको बनाउन मन्त्रिपरिषदले सैद्धान्तिक सहमति दिएको थियो ।

हाल टेकु अस्पताल एक सय शैय्याको हो । तर, कोभिड—१९ ले सामाजिक दूरी कायम गरी बेडको व्यवस्थापन गर्नुपर्दा ७५ वेड मात्रै संचालनमा छ । गत २० माघमा बसेको मन्त्रिपरिषद बैठकले सरुवा रोग नियन्त्रणका लागि ३०० शैय्याको अस्पताल बनाउन सैद्धान्तिक सहमति दिएको थियो ।

नयाँ भवन निर्माण गर्न अस्पतालले ५७ करोड लागत अनुमानसहितको गुरुयोजना तयार गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएको थियो । तर, मन्त्रालयले सो गुरुयोजना समेत स्वीकृत गरेको छैन । अस्पतालका प्रमुख डा. सागर राजभण्डारीका अनुसार भवन निर्माणबारे कुनै पत्र आएको छैन । ‘तीन वर्ष भित्र बनाइसक्ने भनिएको छ । जग्गा समेत भेटिएको छैन,’ निर्देशक राजभण्डारी भन्छन्, ‘औपचारिक रुपमा कुनै पत्र मन्त्रालयबाट आएको छैन । कोरोनाका लागि बन्ने अस्पताल कोरोनाले नै निर्माण कार्य रोकेजस्तो छ । गुरुयोजनाका लागि बजेट मात्रै आएको छ । थप काम अगाडि बढेको छैन्,’ उनले भने ।

प्रत्येक वर्ष सरुवा रोगका बिरामी बढ्दै जाने मात्रै होइन्, नयाँ संक्रामक रोग समेत देखा पर्न थालेका छन् । हाल महामारीका रुपमा विश्वभर फैलिएको कोरोना भाइरस, सार्स, मर्स, इबोला, डेंगुजस्ता भाइरसबाट सुरक्षित रहन टेकु अस्पतालको क्षमता विस्तार अति आवश्यक भएको छ । स्वास्थ्य मन्त्रालयले कसरी अस्पताल बनाउने भन्दा पनि अन्य कुरामा बढी चासो दिएको पाइएको छ ।

उच्च संक्रमणजन्य रोगको उपचार हेपाफिल्टर (वार्डलाई आइसोलेटेड गर्ने मेसिन) सहितको सुरक्षित आइसोलेसन कक्षबाट गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाटन, वीर, सशस्त्र प्रहरी अस्पताल, आयुर्वेद तालिम केन्द्र, वीरेन्द्र सैनिक अस्पताललाई २०–२० आईसीयु निर्माणका लागि प्रति अस्पताल १२ करोड बढी रकम दिएको छ । तर, उक्त रकम भित्रबाट टेकु अस्पतालले मात्रै २० वेड आईसीयुको विस्तार गरेको छ ।

तीन सय शैय्याको सरुवा रोग अस्पताल यथाशीघ्र बनाउने विषयमा सरकारको नीति तथा कार्यक्रममा समेत प्रमुख प्राथमिकताका साथ राखिएको थियो । अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले करिब ५७ करोड रकम उपलब्ध गराएको बताए । मन्त्रालयले भने कहाँ कसरी के आधारमा बनाउने भनेर निर्णय लिन सकेको छैन । तीन सयको सैय्याको सरुवा रोग अस्पताल बनाउने सरकारको निर्णय शुन्यमै रहेको अधिकारीहरुले बताएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ